गृहपृष्ठ ‘मुन्धुमी कक्षा’ लिएपछि दंग
‘मुन्धुमी कक्षा’ लिएपछि दंग
‘लिम्बु/याक्थुङ भाषा, कला, मुन्धुम र इतिहाससम्बन्धी कक्षा’ सञ्चालन गर्ने निर्णय गरेपछि किरात याक्थुङ चुम्लुङका पदाधिकारीहरुलाई लाग्यो- सहभागीहरुको संख्या साह्रै कम हुने त होइन ? सहभागीहरुलाई कक्षा र कक्षाका विषयवस्तु रुचिकर नलाग्ने पो हो कि ! यस्तै सोचका बिच गत जेठ २८ गते सुरु भएको १० दिने कार्यक्रम सोमबार समापन भयो ।
यस वर्ष एसईई दिएर बसेका, कक्षा ११ तथा १२ का विद्यार्थी एवं इच्छुक युवायुवतीका लागि आयोजित सो कार्यक्रमको समापनमा चुम्लुङका पदाधिकारीहरु दंग थिए । लिम्बु/याक्थुङ भाषा, कला, मुन्धुम र लिम्बुवान इतिहास एवं पहिचानसम्बन्धी संक्षिप्त परिचयात्मक चिनारी, महत्वको उजागर र ज्ञानको पुस्तान्तरण गर्ने उद्देश्यअनुरूप कार्यक्रम सफल भएको उनीहरुको निष्कर्ष थियो । अन्य समुदायका युवायुवतीहरुले समेत चासो दिएर सहभागिता जनाएको पाउँदा यस्तो कार्यक्रम फेरि पनि आयोजना गर्ने उत्साह जागेको चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले बताए ।
आयोजक संस्था मात्र होइन, मुन्धुम र मुन्धुमसँग सम्बन्धित विषयवस्तुको सो ‘मुन्धुमी कक्षा’मा सहभागीहरु पनि उस्तै दंग देखिए । समापन समारोहमा भेटिएका उनीहरु कार्यक्रमले आफ्नो जीवनै महत्व राख्नेगरी उपलब्धिमुलक बनेको सुनाए । बानेश्वरबाट धाएर कार्यक्रममा सहभागी भएका अनुज न्यौपाने फुरुंग थिए । समेटिएका विषयमध्ये मुन्धुमको कक्षाले उनको चित्त छोएको रहेछ । ‘मलाई हरेक जातजातिको संस्कार, संस्कृति र इतिहासमा रुचि छ । चुम्लुङले एकै अवसरमा धेरै विषयमा जानकारी पाउने अवसर दियो, यसमा खुशी छु,’ इन्स्टाग्राममा सूचना देखेपछि कार्यक्रममा सहभागी भएका उनले भने, ‘मेरो लागि कार्यक्रम धेरै नै उपलब्धिमुलक रह्यो ।’ नाथम कलेजमा ट्राभल एण्ड टुरिज्म विषय लिएर थर्ड सेमेस्टर अध्ययरत न्यौपानेले आफूलाई मुन्धुम धेरै नै गहिरो विषय लागेको बताए ।
इलाम मूलघर भइ हाल लुभु बस्ने प्रनिशा फियाक र ताप्लेजुङ घर भइ थसिखेल बस्ने मिङला लिम्बु सहपाठी हुन् । ‘कार्यक्रम अवधिका हरेक दिन चाखपूर्ण रहेको' भर्खरै एसईई दिएका दुवैको साझा प्रतिक्रिया थियो । ‘हाम्रैबारेका कहिल्यै नसुनेको कुराहरु पनि थाहा पायौं । अलि-अलि सुनेको विषयमा झन् धेरै जान्न पाइयो । खाजामा पनि लिम्बु जातिकै मौलिक खाना खान पाउँदा झनै रमाइलो लाग्यो,’ समापन कार्यक्रममा लिम्बु जातिको मौलिक खाना चाम्रे र याङबेन खाइरहेकी प्रनिशाले भनिन् । सिकेका कुरालाई आफ्नो शैक्षिक यात्रामा अधिकतम प्रयोग गर्ने दुवैको प्रतिवद्धता छ ।
चीनको चाङ चाउ युनिभर्सिटीमा चिकित्सा शास्त्र पढिरहेका कुनाल चौधरी सप्तरीका वासिन्दा हुन् । कोभिड महामारीपछि नेपाल फर्केर हाल टीकाथलीमा बसिरहेका उनी पनि सामाजिक सञ्जालमार्फत नै जानकारी पाएर कार्यक्रममा सहभागी भएका थिए । उनले भाषाको सत्र आफूलाई सबैभन्दा रुचिकर लागेको बताए । थोरै समयमा धेरै विषय समेटिएकाले पर्याप्त छलफल गर्न नपाएको उनको भनाइ थियो । सकेसम्म सीमित विषयमा विस्तृत कक्षा सञ्चालन गर्न सके प्रभावकारी हुने उनले सुझाव दिए ।

छोटो समयमा कार्यक्रम आयोजना गरे पनि उत्साहजनक सहभागिता भएकोमा चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले खुशी व्यक्त गरिन् । ‘यस्ता कार्यक्रम गरेको खण्डमा अन्य समुदायका मानिसले पनि रुचि देखाउने रहेछन् । समाजमा आपसी सद्भाव र सहकार्य वृद्धि गर्नका लागि पनि हरेक समुदायले यस किसिमको कार्यक्रम गर्न आवश्यक देखियो,’ उनले भनिन् ।
विश्वका विभिन्न दर्शनसँग सम्बन्धित धेरै चर्चा र अध्ययन-अध्यापनमा आफू सरिक भइरहे पनि यस किसिमको मौलिक विषयवस्तुमाथि छलफल गर्दै जानेका कुराहरु बाँड्न पाउँदा औधी खुशी लागेको अध्यक्ष येक्तेनले बताए । ‘आफ्नै भूमिको दर्शन र मौलिक विषयवस्तुमा चर्चा गर्न पाउनु खुशीको कुरा हो । यस्ता अवसर जुटाउन र सिर्जनाका लागि राज्यले पहलकदमी गर्नुपर्थ्याे । तर, त्यसाे हुन सकिरहेको छैन,’ उनले भने । मुन्धुमका हरेक दर्शनहरु वैज्ञानिक दर्शनद्वारा पनि पुष्टि गर्न सकिने उनको भनाइ थियो ।
ललितपुरस्थित चुम्लुङहिममा सम्पन्न समापन कार्यक्रममा सहभागी ३७ जनालाई प्रमाणपत्र र सहजकर्ताहरुलाई कदरपत्र वितरण गरिएको थियो । त्यसअघि सहभागीहरुले कार्यक्रम अवधिभर सिकेका कुराहरु र अनुभवलाई समूहगत रुपमा प्रस्तुत गरेका थिए । उनीहरुले मौलिकताको जगेर्ना र प्रवर्द्धनका लागि प्रविधिको उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । भाषा, संस्कृति र पहिचानका कुराहरु पनि हरेक बोलीचाली तथा व्यवहारमा अधिकतम प्रयोग गर्नुपर्ने उनीहरुको धारणा थियो ।
प्रकाशित समय : २३:०६ बजे



















