global ime bank Long Banner Ad

गृहपृष्ठ ऊर्जामन्त्री भुसालसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिन् । नेपाल जलवायु परिवर्तनको असरले ठुलो समस्यामा पर्दै गएको उल्लेख गर्दै उनले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘हाम्रो पहाडमा पहिरो, तराईमा बाढी, तापक्रममा वृद्धिजस्ता जलवायु परिवर्तनका असर धेरै देखिन थालेका छन्, यस्ता समस्याको समाधान खोज्न आवश्यक छ । यी विषयमा नेपाल र स्वीस सरकार सहकार्य गरेर जानुपर्छ ।’ उनले संघीयता कार्यान्वयन र रोजगारी विस्तारमा स्वीस सरकारबाट प्राप्त भएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा राजदूत क्याप्लरले नेपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्वीस सरकारले निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास दिलाइन् । उनले भनिन्, ‘हामीसँग टनेल एवं टर्बाइनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसलाई नेपालमा सहयोग गर्न चाहन्छौँ ।’ सो अवसरमा जलवायु परिवर्तनको असरका कारण आफ्नो देशको तापक्रम वृद्धि हुँदै गएको राजदूत क्याप्लरले सुनाइन् । 

भेटमा ऊर्जामन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, बाबुराम भण्डारी र पररारष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित समय : १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु