गृहपृष्ठ योगलाई अभियानका रुपमा लैजानुपर्छ : नेता पोखरेल
योगलाई अभियानका रुपमा लैजानुपर्छ : नेता पोखरेल
नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएका हुन् ।
योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उनले यसलाई समयानुकूल बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताए । उनले भने, ‘योग अहिलेको युगअनुरुप रहेको छ । यसलाई समयानुकूल बनाउँदै लैजानुपर्छ ।’ आफू शिक्षामन्त्री हुँदा योगलाई पाठ्यक्रममा समावेश गर्ने भनी निर्णय गरेको जानकारी गराउँदै उनले यसलाई पाठ्यक्रममा राखेर स्कुलदेखि नै सिकाउँदै लैजानुपर्ने बताए । शिक्षा क्षेत्रमा यसको विकासले समाजको परिवर्तन सम्भव हुने उनको भनाइ थियो ।
फरक प्रसंगमा बोल्दै उनले तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा नरहेको बताए । उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । यो समयमा मन्त्री फेरबदल गर्नु राम्रो हुँदैन ।’ अर्थमन्त्रीले र सरकारका मन्त्रीहरुले संसद्मा जबाफ दिने क्रम जारी रहेको बताउँदै उनले पछिल्लो राजनैतिक गतिविधिका बारेमा केन्द्रको १५ गतेपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।
प्रकाशित समय : १९:२९ बजे



















