‘लगानी गर्न नसक्नेका लागि पनि अपर अरुणकाे सेयर सुनिश्चित गरिनुपर्छ’
वि.सं.२०७९ असार ६ सोमवार २०:१५
shares

नेपाली कांग्रेसका संखुवासभा जिल्ला सभापति तथा पूर्व राज्यमन्त्री दिपक खड्काले अपर अरुण जलविद्युत आयोजनामा लगानी नजुट्ने भन्ने प्रश्न नरहेको बताएका छन् । संखुवासभा-काठमाडौं जर्नालिष्ट एसोसिएसन (एसकाज)ले आइतबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले लगानी जुटाउने जिम्मा आफूले लिन सक्ने पनि बताए ।
लगानी जुट्दैन भनेर पन्छिनेहरुलाई आफूहरुले लगानी जुटाउने ग्यारेण्टी गर्ने उनको भनाइ छ । ‘यो आयोजना संखुवासभावासीको साझा र सिंगो मुुलुकको गौरवको आयोजना भएकाले लगानी नजुट्ने भन्ने कुनै प्रश्न छैन,’ उनले भने, ‘यसको पहिलो हकदार आयोजनास्थल अर्थात् भोटखोलावासी र संखुवासभावासीहरु हुन् ।’
उनले यो आयोजनालाई भोजपुरवासी, संखुवासभावासी र सिंगो प्रदेश-१ को गौरवको आयोजनाको रुपमा अगाडि बढाउन सकिने धारणा राखे । उनले भने, ‘हामी सबै नेपाली मिलेर आयोजना बनाउने हो । मैले भनेको छु, संखुवासभाका ४० हजार घरधुरीले २० लाख रुपैयाँसम्म सेयर हाल्न पाउने व्यवस्था हुनुपर्छ । त्यसैगरी भोजपुरका झण्डै ६० हजार घरधुरीले पनि कम्तीमा २० लाख रुपैयासम्म सेयर हाल्न पाउने व्यवस्था गरिनुपर्छ ।’
यसरी झण्डै १ लाख घरधुरीले सेयर हालेपछि लगानी नजुट्ला र आयोजना नबन्ला भन्ने प्रश्नै नरहने उनले बताए । ‘बिहान–बेलुकीको छाक टार्न समस्या हुने परिवारका लागि समेत सेयरमा ग्यारेण्टी गरिनुपर्छ । त्यो सहुलियत दरमा ऋण उपलब्ध गर्नुपर्छ । सरकारले गर्ने फजूल खर्च मात्र जनतालाई ऋण प्रवाह गर्न सक्यो भने यो बन्छ, सम्भव छ,’ उनले अवधारणा सुनाए ।
उनले यस्तो अभियानको जनस्तरमा र प्रचार प्रसारमा लैजान अझै आवश्यक रहेको औंल्याए । ‘तयारी अझै पुगेको छैन । कमसेकम सबैले कुरा सुन्नु पर्यो, बुझ्नु पर्यो । दुईचार जना मात्र बसेर त हुँदैन । सबैलाई बुझाउन सक्नु पर्छ र सबैको कान-कानमा पुग्नु पर्छ,’ उनले भने ।
२ खर्ब रुपैयाँ लागत भन्दा कसरी जुट्छ ? भन्नेमा मान्छेलाई अत्यास लाग्न सक्ने भए पनि त्यो पूरा गर्न सकिने उनले विश्वास व्यक्त गरे । ‘यसमा अत्यास मान्नु पर्दैन । अब कुन मोडालिटीमा बनाउने भन्ने प्रमुख कुरा हो । यसमा सबै राजनीतिक नेतृत्व, विज्ञसमूह, सरोकारवाला सबैको साझा धारणा आवश्यक छ । नपुगेको पैसा हामी जुटाउछौं । यो मेरो मिसन हो,’ पूर्व राज्यमन्त्री खड्काको भनाइ थियो ।
अपर अरुण आयोजनाका विषयमा कुनै द्विविधा नपाल्न र भ्रम नछर्न उनले आग्रह गरे । अपर अरुण सस्तो, कम क्षति हुने राम्रो आयोजना भएको उल्लेख गर्दै उनले भने, ‘सरकार ग्यारेण्टी बस्छ भने हामी पैसा खोज्छौं । यसमा व्यक्तिले क्रेडिट लिने होडबाजीभन्दा पनि सबैले क्रेडिट लिनु पर्छ । अर्थात समूहिक रुपमा अगाडि बढ्नुपर्छ ।’
यस विषयमा विभिन्न निकायसँग परामर्श भइरहेको उनले बताए । सरकारसँग पनि यस आयोजनाको विषयमा आफूले कुरा राखिसकेको खड्काले बताए । निम्न आयस्रोत भएका समुदाय वा व्यक्तिलाई विकासको मूलधारमा ल्याउनु पर्ने उनको भनाइ छ । १० प्रतिशत व्यक्ति मात्र सम्पन्न भएर जिल्ला सम्पन्न नहुने उनले तर्क गरे । विकासमा सबैको समान पहुँच हुनु पर्ने उनको धारणा छ ।
























