गृहपृष्ठ राउण्ड टेबल नेपालद्वारा १८९ छात्रछात्राको शिक्षाका लागि २० लाख सहयोग
राउण्ड टेबल नेपालद्वारा १८९ छात्रछात्राको शिक्षाका लागि २० लाख सहयोग

गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालले विद्यार्थीहरुको लागि २० लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले धनगढीका दुई स्कुलका १८९ विद्यार्थीको वार्षिक ट्युसन शुल्क व्यहोर्ने भएको हो ।
कञ्चनपुरको पुनर्वासमा रहेको श्रीपशुपति शिक्षा मन्दिर र श्रीपशुपारि शिक्षा मन्दिर बेरुलीका विद्यार्थीको शिक्षामा कम्पनीले सघाउने भएको हो । यी विद्यार्थीहरु नर्सरीदेखि आठ कक्षासम्मका रहेका छन् । तीमध्ये कतिपय विद्यार्थीलाई परिवारले आर्थिक अभावका कारण विद्यालयबाट निकालेका छन् । यसअघि गत वर्ष पनि राउन्ड टेबल नेपालले घरपरिवारविहीन सय विद्यार्थीलाई शिक्षामा सहयोग गरेको थियो । संस्थाले सार्वजनिक विद्यालयको पूर्वाधार सुधारमा पनि सघाउँदै आएको जनाएको छ ।
उक्त संस्थाले देशका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३७३ कोठासहित ४० वटा शौचालय ५८ वटा विद्यालय र अनाथालयमा निर्माण गरिसकेको छ । राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३२ च्याप्टरमा कुल ५१३ सदस्य रहेका छन् ।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रु एजुकेसन’ सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ । कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको राउण्ड टेबल नेपालले जनाएको छ ।
शिक्षा क्षेत्रसँगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ । खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।
त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइनअन्तर्गत बिरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।
प्रकाशित समय : ०१:३९ बजे