गृहपृष्ठ मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुन:निर्माणको काम
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुन:निर्माणको काम
मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो । धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष संकटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो ।
बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दै आएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।
उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । बाढीले घरखेत बगाएपछि बेसहारा बनेका हेलम्बु-२, गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन् । बाढीले उनको घर बगायो भने खेत बगरमा परिणत भयो । उनी हाल सुुकुम्बासी बनेका छन् । 'सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन,' उनले पीडा सुनाइन् । हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुंगे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए ।
हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् । हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै निस्कन सकेका छैनन् । बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौँतारिरहेका छन् । 'सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैँ सताउँछ,' उनले दुखेसाे सुनाए ।
प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । 'निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ । केही समस्याका कारण यसमा ढिलाइ भएको छ,' उनले भने ।
यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउँछन् । खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो ।
मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिनअघि आएको बाढीले बगाएपछि झन् समस्या भएको छ । हेलम्बु-७, चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको स्थानीयवासी बताउँछन् ।
प्रकाशित समय : १४:३२ बजे


















