गृहपृष्ठ विश्वकपमा छनोट हुने नेपालको लक्ष्य
विश्वकपमा छनोट हुने नेपालको लक्ष्य
नेपाली यू-१९ महिला क्रिकेट टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने आइसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ। विश्वकपमा छनोट हुन नेपाली टोलीले मलेसियामा आयोजना हुने यू-१९ एसिया छनोटमा राम्रो प्रदर्शन गर्न चाहन्छ । छनोटका लागि नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक महेश रिजालले छनोटमा शीर्ष स्थान हासिल गर्दै विश्वकपमा छनोट हुने लक्ष्य लिएको बताए । जसको लागि नेपाली टोलीले १ महिनाबाट तयारी गरिरहेको उनले बताए ।
‘हामी एक महिनाबाट बन्द प्रशिक्षणमा छौँ । हामीले यहाँ उपलब्ध साधन स्रोत अनुसार आवश्यक सम्पूर्ण तयारी गरेका छौँ’, मुख्य प्रशिक्षक रिजालले भने, ‘यस प्रतियोगितामा ६ वटा टिम सहभागी छन् । जित्ने टिम छनोट हुन्छ । हामी त्यहिँ लक्ष्य लिएर तयारी गरिरहेका छौँ । हाम्रो लक्ष्य प्रतियोगितामा अग्र स्थानमा रहेर सुखद परिणाम दिने रहेको छ ।’
यस्तै नेपाली टोलीका कप्तान कृतिका मरासिनीले राम्रो नतिजासहित स्वदेश फर्कने बताइन् ।
‘हाम्रो प्रशिक्षक, अफिसियलहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । हाम्रो लागि भनेर उहाँहरुले रातदिन मेहेनत गरिरहनु भएको छ’, कप्तान मरासिनीले भनिन्, ‘आशा गर्छु की नेपालका लागि राम्रो खेलेर राम्रो नतिजा ल्याएर आउने छौँ ।'
प्रकाशित समय : १५:२७ बजे



















