गृहपृष्ठ ‘अस्तित्व संकट’को सामना गर्दै पाकिस्तानमा सिख समुदाय
‘अस्तित्व संकट’को सामना गर्दै पाकिस्तानमा सिख समुदाय

इस्लामिक संगठनहरूको लक्षित हत्या, अपहरण र जबरजस्ती धर्म परिवर्तनमार्फत पाकिस्तानमा रहेका धार्मिक अल्पसंख्यकहरूको लागि अफ्ठेरो वातावरण बन्दै गएको छ । सिखहरूमाथि आक्रमणका घटना नियमित रूपमा बढिरहेको छ जसले विभिन्न समुदायहरूबीच तनाव उत्पन्न गरेको छ ।
हालै मे १५ मा एक क्रूर घटनामा दुई सिख व्यापारी कुलजीत र रञ्जित सिंहको पेशावर, खैबर पख्तुनख्वाको बाहिरी भागमा हत्या गरिएको थियो । सन् २०१४ यता केपी प्रान्तमा मात्रै चरमपन्थीहरूले सिखहरूलाई लक्षित गरेको यो 'बाह्रौं' घटना थियो । यसबाहेक गत वर्ष सेप्टेम्बरमा पनि एक सिख युनानी औषधि व्यवसायी सतनाम सिंहलाई पेशावरमा उनको क्लिनिकभित्रै गोली हानिएको थियो । आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासान (आईएस-के)ले लिएको छ ।
पाकिस्तानको मानव अधिकार आयोगले पनि हत्याको कडा निन्दा गर्दै विज्ञप्तिमा भनेको छ, 'सिखहरू माथिको आक्रमण यो पहिलो पटक होइन । आक्रमणकारी माथि यथाशीघ्र कडा कार्बाही होस् ।' पाकिस्तानमा सिख जनसंख्या कमजोर अवस्थामा छ र उनीहरूको विशिष्ट धार्मिक पहिचान र असुरक्षित क्षेत्रहरूमा जनसंख्या जम्मा भएका कारण जबरजस्ती धर्म परिवर्तन गराइँदै छ । इस्लामिक संगठनहरूद्वारा लक्षित आक्रमणको घटना बढ्दो छ । यसैबीच क्यानडाको विश्व सिख संगठन (डब्ल्यूएसओ)ले पनि पेशावर हत्याको निन्दा गरेको छ र पाकिस्तानको सिख समुदायको सुरक्षाको लागि गहिरो चिन्ता व्यक्त गरेको छ ।
एशियन लाइटले पनि पाकिस्तानले यस क्षेत्रमा आफ्नो सुरक्षाको ग्यारेन्टी नगर्ने भएकाले सुरक्षित ठाउँमा बसाइँ सर्नु उनीहरूका लागि बाध्यता बन्दै गएको बताएको छ । पाकिस्तान सिख गुरुद्वारा प्रबन्धक समितिका अनुसार पाकिस्तानमा जम्मा १५-२० हजार सिख बाँकी रहेको अनुमान गरिएको छ । जसमध्ये करिब ५०० सिख घरपरिवार पेशावरमा छन् । जनवरी २०२० मा एक हिंस्रक भीडले सिखहरूको सबैभन्दा पवित्र तीर्थस्थलमा आक्रमण गरेको थियो ।
देशमा 'शरिया कानून' लागू गर्ने बढ्दो माग र सिख अल्पसंख्यकहरू विरुद्धको अत्याचारमा निरन्तर वृद्धिले उनीहरूलाई पाकिस्तानमा बाँच्नको लागि कठिन परिस्थिति बन्दै गएको छ । पाकिस्तानका अल्पसंख्यक समुदायहरू विशेष गरी सिखहरू बीच असन्तुष्टि बढ्दै गएको छ । यद्यपि उनीहरूले बहुसंख्यक मुस्लिमहरूको साथ शान्तिपूर्ण रूपमा बस्न चाहान्छन् तर वातावरण भने प्रतिकूल बन्दै गएको छ ।
पाकिस्तानले हालै पेशावर क्षेत्रमा सिख र शिया अल्पसंख्यकहरू लक्षित हत्याका थुप्रै घटनाहरूको साथ आतंकवादको नयाँ लहरको सामना गरिरहेको छ । पाकिस्तानमा यसअघिका सरकारहरूले देशमा अल्पसंख्यकविरुद्ध भइरहेका भयानक घटनाहरूलाई जन्म दिएर आतंकवाद विरुद्धको कारबाही गर्नको लागि राखिएको राष्ट्रिय कार्य योजना (एनएपी)को कार्यान्वयनलाई लत्याएको बताइएको छ ।
एशियन लाइट इन्टरनेशनलले उल्लेख गरेअनुसार पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरूलाई प्रायः 'दोस्रो दर्जा को नागरिकको रूपमा व्यवहार गरिन्छ ।
प्रकाशित समय : ०३:२७ बजे