नगरवासीको विद्युत महसुल पालिकाले व्यहोर्ने
वि.सं.२०७९ जेठ १५ आइतवार ०४:०३
shares

मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम पालिकाले व्यहोर्न भएको छ ।
महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पहिलो निर्णयानुसार मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो । विद्युत महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए ।
यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्र सडकलाई विभागको सहमतिमा मर्मतसम्भारको काम अघि बढाउनेसमेत निर्णय भएकाे छ । त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए ।
























