गृहपृष्ठ खसेको मतभन्दा गणना भएको मत संख्या बढी ! विवादपछि मतगणना स्थगित
खसेको मतभन्दा गणना भएको मत संख्या बढी ! विवादपछि मतगणना स्थगित
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं. ३ को पुन: मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु भएको छैन ।
निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुबीचको छलफलमा मतगणना अघि बढाउने विषयमा सहमति नजुटेपछि पुन: मतगणनाका लागि निर्वाचन आयोगमा अनुमति मागिएको छ । निर्वाचन अधिकृत जानुका सुवेदीले पुन: मतगणनाको निवेदन निर्वाचन आयोगमा पठाइएको र आयोगको निर्णय नआउँदासम्मका लागि मतगणना स्थगित भएको बताए ।
निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण-३, दानामा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो । वडा नं. ४ को मतगणना गर्न थालेपछि केसी र कांग्रेसका प्रतिनिधिले पुन: मतगणनाको माग गरेका हुन् । अन्नपूर्ण-३ मा खसेको मतभन्दा गणना भएको मत संख्या बढी भएको केसीको भनाइ छ । एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रबार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो ।
पुन: मतगणनाको माग गर्दै कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन अधिकृतको कार्यालय परिसरमा नाराबाजी गरेका थिए । विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानालगायत सुरक्षा अधिकारी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर गएका थिए ।
प्रकाशित समय : ०४:५३ बजे



















