गृहपृष्ठ जिम्बावेविरुद्ध एकदिवसीय सिरिज नेपाललाई
जिम्बावेविरुद्ध एकदिवसीय सिरिज नेपाललाई

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङप्रेरित नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै एकदिवसीय श्रृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालसामु जिम्बावेले ३३ ओभरमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर १७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो ।
ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । नेपालका लागि ६१ बलको सामना गरेका कुशलले ७ चौका र ४ छक्कासहित ८४ रनको महत्त्वपूर्ण इनिङ खेले । आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर पेभेलियन फर्किदा सुनिल धमला ६ रन बनाएर आउट भएका थिए ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले अविजित ६० रनको शानदार इनिङ खेले । उनले विकेटकिपर ब्याटर विनोद भण्डारीसँग चौथो विकेटका लागि अविजित ८४ रनको साझेदारी गरे । छैटौँ नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका विनोद २६ बलमा ३ चौकासहित २८ रन बनाएर अविजित रहे ।
बलिङतर्फ जिम्बावे ‘ए’का लागि ब्रान्डोन माभवुताले ६ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा ब्राड इभान्सले ५ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले टाडिवान्से मरुमानीको अर्धशतक मद्दतमा २१३ रनको योगफल तयार गरेको थियो ।
खेल समयमा सुरु हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो । बिहान ९ः३० बजे हुने तय भएको खेल वर्षाका कारण मैदान चिसो हुँदा १२ः ३० बजे मात्रै सुरु भएको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ‘ए’ले ३२.१ ओभरमा विकेट गुमाएर २१३ को योगफल तयार गरेको थियो । जिम्बावे ‘ए’का लागि ओपनर मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के । जिम्बाब्वे ‘ए’का कप्तान टोनी मुनयोङा १२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भएका थिए । यसबाहेक जोनाथन क्याम्पबेल ३, ब्राड इभान्स ७, लुक जोङ्वे १९, ब्रान्डोन माभवुता ६ र सेफस झाओ १६ रन बनाएर आउट भएका थिए ।
नेपालका किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए । यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । विश्वकप लिग-२ अन्तर्गत अर्को महिना अमेरिकामा हुने त्रिदेशीय श्रृंखलाकाे तयारीमा रहेको नेपालले जिम्बावे ‘ए’लाई अभ्यास खेलका लागि नेपाल भ्रमणको निम्तो दिएको हो ।
नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’सँग यसअघि खेलेको टी-२० शृंखला एक खेल वर्षाका कारण रद्द हुँदा १-१ को बराबरीमा सकिएको थियो । एकदिवसीय श्रृंखलाकाे पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो एकदिवसीयमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो ।
प्रकाशित समय : ०१:२५ बजे