गृहपृष्ठ मृत्यु भएका मतदाताको नाम हटाइएन
मृत्यु भएका मतदाताको नाम हटाइएन
दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । २०७४ सालयता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
;स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन् । त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्छ,' उनले भने । दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको उनको भनाइ छ ।
यहाँका स्थानीय तहहरुले २०७४ सालयता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्यांक तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ । 'उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम भएका कति जनाको मृत्यु भयो भनेर त्यस्तो तथ्यांक अहिले निकालेका छैनौँ, निर्वाचन आयोगलाई पनि पठाएका छैनौँ,' घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीम चौधरीले भने ।
निर्वाचन आयोगमा दाबी-विरोध परेकाको तथ्यांक मात्रै पठाएको तर मृत्यु भएकाको नपठाएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले बताए । मृत्यु भएकाको यसरी नामावली कटाउने प्रणाली भए सजिलो हुने उनको भनाइ छ । जिल्लामा कूल चार लाख नौ हजार ९०० मतदाता रहेका छन् । २०७४ सालमा भएको निर्वाचनमा जिल्लामा तीन लाख ७७ हजार पाँच मतदाता रहेको थियो ।
प्रकाशित समय : १४:५१ बजे



















