गृहपृष्ठ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिदाइ
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिदाइ
गृहमन्त्री बालकृष्ण खाणले आइतबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई शुभकामनासहित बिदाइ गरेका छन् । साथै उनले आइजीपी थापा क्षेत्रीलाई मायाको चिनोसमेत प्रदान गरे ।
उक्त अवसरमा गृहमन्त्री खाणले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका आइजीपी थापा क्षेत्रीलाई बधाई दिँदै सेवानिवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । गृहमन्त्री खाणले समाजमा हुने विभिन्न अवाञ्छित गतिविधि, अपराध अनुसन्धान तथा रोकथाम, प्राकृतिक विपद्को समयमा सीमित साधन श्रोतको वावजुद पनि आइजीपी थापा क्षेत्रीले प्रहरी कर्मचारीहरू परिचालन गरी उत्कृष्ट प्रहरी सेवा प्रदान गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । कोभिड-१९ को विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण एवं आम नागरिकको सुरक्षाको लागि अंग्रपक्तिमा रहेको नेपाल प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गरेको उनले बताए ।
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले सेवानिवृत्तपछि पनि संगठनको हित एवं विकासका लागि विज्ञ अनुभव उपयोगी हुने चर्चा गरे । कार्यक्रममा गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : ०१:३२ बजे