गृहपृष्ठ म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता
म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दल र स्वतन्त्र उम्मेदवार गरी १७४ जनाले मनोनयन दर्ता गराएका छन् । रघुगंगा गाउँपालिकामा ७५, अन्नपूर्ण गाउँपालिकामा ४७, मालिका गाउँपालिकामा २७, धवलागिरी गाउँपालिकामा ३ र बेनी नगरपालिकामा दुई जनाको मनोनयन दर्ता भएको हो ।
मनोनयन दर्ता गरेकामध्ये धैलागिरिका एक, रघुगंगाका तीन र बेनीका दुई जना स्वतन्त्र हुन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले अन्नपूर्णमा दुई वडासदस्यबाहेक पहिलो दिन कुनै पनि पालिकामा मनोनयन दर्ता गरेनन् । रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सबै प्यानलमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका उम्मेदवार बाजागाजा र र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । एमालेले उम्मेदवार टुंगो लगाउन बाँकी भएको र सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँडमा सहमति जुटेको छैन । रघुगंगाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी, उपाध्यक्षमा प्रेमकुमारी पुन, स्वतन्त्रबाट अध्यक्षमा सागर भण्डारी र उपाध्यक्षमा अनुरोध रिजालले मनोनयन दर्ता गरेको निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए । मंगोल नेशनल अर्गनाइजेशनले रघुगंगामा तुलप्रसाद गर्बुजालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ ।
अन्नपूर्णका निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा कांग्रेसका बलबहादुर तिलिजा पुन, नेशनल मंगोल अर्गनाइजेशनका गेमप्रसाद गर्बुजा र उपाध्यक्षमा एलिना शेरपुञ्जाको मनोनयनपत्र दर्ता भएको छ । माओवादीबाट वडा नम्बर ३ दानाको वडासदस्यमा संगीता सार्की विक र वडा नम्बर ५ को खुला वडासदस्यमा पूर्णबहादुर पाइजाले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसले माओवादीलाई दुई वडा सदस्य छोडेर आठवटै वडाका सबै पदमा उम्मेदवारी दिएको जनाएको छ । बेनीको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ र कृष्णबहादुर शाक्यले मनोनयन दर्ता गरेका छन् ।
मंगलाका निर्वाचन अधिकृत धर्मराज पौडेलले कांग्रेस र राप्रपाका २० जनाले मनोनयन दर्ता गराएका बताए । मालिकामा मंगोलले पालिका अध्यक्षसहित २७ पदमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।
मंगोलका खमबहादुर रोकाले मालिका गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । कांग्रेसले दरवाङ बजारमा र्यालीसहितको शक्ति प्रदर्शन गरे पनि समय सकिएकाले मनोनयन दर्ता गरेनन् । धौलागिरिका निर्वाचन अधिकृत भोलाराज रेग्मीले एक जना स्वतन्त्र र दुई जना कांग्रेसका उम्मेदवारको मनोनयन दर्ता भएको बताए । वडा नम्बर ७ को अध्यक्षमा अर्जुनबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट वडा नम्बर ५ को अध्यक्षमा अमरबहादुर छन्त्याल र एक जना सदस्यको मनोनयन दर्ता भएको छ ।
एमालेले धौलागिरि र बेनीको प्रमुख/उपप्रमुख तथा मालिका र मंगलाको उपाध्यक्षका उम्मेदवार छनोट नगरेकाले आइतबार मनोनयन दर्ता नगरेको हो । माओवादी केन्द्रले सत्तासाझेदार दलको तालमेलका लागि केन्द्रीय र प्रदेश कमिटीको आग्रहमा सोमबार मात्र मनोनयन दर्ता गर्ने जनाएको छ ।
प्रकाशित समय : १३:२१ बजे