गृहपृष्ठ माओवादी छाडेर गएकाहरूलाई पार्टीमा फर्किन प्रचण्डको आह्वान

माओवादी छाडेर गएकाहरूलाई पार्टीमा फर्किन प्रचण्डको आह्वान

माओवादी छाडेर गएकाहरूलाई पार्टीमा फर्किन प्रचण्डको आह्वान

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता तथा कार्यकर्ताहरूलाई एक ठाँउमा हुन आह्वान गरेका छन् । आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरूलाई एकतावद्ध हुन आह्वान गरेका हुन् ।

उनले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरू उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरू एकतावद्ध हुनु आवश्यक रहेको बताए । उनले  भने ‘हामी सबै यो परिवर्तनका पक्षधरहरू, यो परिवर्तनको निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्नेहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ। माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुनःप्राप्ति हुनसक्छ । फेरि निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरू छन् र त्यसको निम्ति कसरत भई नै राखेको छ । त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता, कार्यकर्ताहरूलाई विशेष रूपले अपिल गर्न चाहन्छु ।’

विगतमा कम्युनिष्ट पार्टीहरूलाई एकतावद्ध बनाउनका लागि नेकपा एमालेसँग एकीकरण गरिएको उनले बताए । उनले एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विर्सजनवादी चिन्तनका कारणले एकता सफल हुन नसकेको  दाबी गरे । उनले एमालेभित्रका वाम गठबन्धनका पक्षधरहरूले पार्टीभित्र संघर्ष गर्नुपर्ने  बताए ।

उनले भने, ‘सम्पूर्ण एमालेभित्रका ति इमानदार कम्युनिष्टहरू, जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो । हुनुहुन्छ अहिले पनि । कम्युनिष्टहरूको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ । अहिलेपनि उहाँहरूलाई गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् । आज पार्टी स्थापना दिवसले, लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमानदार कम्युनिष्टहरू सबैलाई फेरी एकचोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुछ ।’ उनले कार्यक्रममा माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताए ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु