गृहपृष्ठ नेप्से दोहोरो अंकले बढ्यो
नेप्से दोहोरो अंकले बढ्यो
नयाँ वर्ष २०७९ पछिको दुई कारोबार दिन लगातार ७१ अंकले घटेको सेयर बजारमा मंगलबार १३.३७ अंकको बढोत्तरी आएको छ । अधिकांश सूचीकृत कम्पनीको सेयरको भाउ निरन्तर घटेर तल्लो बिन्दुमा आएपछि लगानीकर्ताले खरीद बढाउँदा नेप्से सुधारिएको हो ।
मंगलबार नेप्से १३.३७ अंकले बढेर २३५७.२४ बिन्दुमा पुगेको छ । तीव्र उतार-चढावपूर्ण रहेको नेप्सेमा आज ५६ अंकको उतारचढाव देखा पर्यो । नेप्से बाह्र बज्दा इन्ट्रा डे कारोबारमा सबैभन्दा तल्लो बिन्दु २३१४ सम्म ओर्लिएकोमा १२ः४३ बजे सबैभन्दा उच्च बिन्दु २३७० बिन्दुसम्म उक्लिएको थियो । अन्त्यमा तल्लो बिन्दुभन्दा ४३ अंक बढेर बन्द भएको छ । इन्ट्रा डे कारोबारको माथिल्लो बिन्दुभन्दा १३ अंकल तल नेप्सेले बिट मारेको छ ।
नेप्सेमा आज २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता सेयर २७ हजार ८४१ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ रुपैयाँमा समेटिएको छ । सोमबार १ अर्ब ५३ करोडको सेयर कारोबारमा भएकोमा अघिल्लोकारोबार दिनको तुलनामा २१ करोडले कारोबार घटेको हो ।
आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेञ्जर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेष्डोको सेयरमूल्य २७३.७० रुपैयाँ बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ भने मंगलबार नै २७१ मा कारोबार खुलेको ग्रीन भेञ्चरको सेयरमूल्य पनि २७.१० रुपैयाँ बढेर २९८.२० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पहिलो दिन आज ४९ वटा कारोबारबाट २९२ कित्ता सेयर ८३ हजार २४४ रुपैयाँमा खरीद बिक्री भएको छ । नेष्डोको ३५३ वटा संख्याबाट ३ हजार ८७१ कित्ता सेयर १ करोड १६ लाख ५१ हजार ७७२ रुपैयाँमा कारोबार भयो ।
यस्तै यसदिन दिश्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ८.८२ प्रतिशत अर्थात २४ रुपैयाँ घटेर २४८ मा झरेको छ । कालिका लघुवित्त ३.६४ प्रतिशत अर्थात ४८ रुपैयाँ घटेर १२७० रुपैयाँमा झरेको छ । प्रुडेन्सियल इन्स्योरेन्स, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, स्वावलम्बन लघुवित्त, एभरेष्ट इन्स्योरेन्स र किसान लघुवित्तको सेयरको भाउ २ प्रतिशत अधिकले घटेको छ ।
मंगलबार कारोबारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड ३० लाख ६७ हजार रुपैयाँ बराबरको ६६ हजार ६१० कित्ता सेयर कारोबारमा आएको छ । बैंकको सेयरको भाउ ७ रुपैयाँले घटेर बन्द भएको छ ।
निरन्तर घट्दै आएको नेप्से बढेपछि बजारले अब गति लिनेमा लगानीकर्ताले विश्वास गरेका छन् ।
प्रकाशित समय : २१:५२ बजे



















