गृहपृष्ठ आयोजना प्रभावितलाई सेयर जारी गर्दै दोर्दी
आयोजना प्रभावितलाई सेयर जारी गर्दै दोर्दी
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले यही वैशाख १३ गतेदेखि आफ्नो जारी पुँजी (एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४००)रुपैयाँको १० प्रतिशतले हुने १० करोड ५४ लाख २६ हजार ४०० रुपैयाँ बराबरका १०० रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रमा पर्ने लमजुङको दोर्दी गाउँपालिकाका स्थायी बासिन्दाका लागि निष्काशन गर्ने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।
स्थानीयले यही वैशाख १३ गतेदेखि छिटोमा वैशाख २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले हाल दोर्दी भएर बहने दोर्दी खोलाको पानी उपयोग गरी १२ मेगावाट क्षमताको ‘दोर्दी १ जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
साथै, सिद्धार्थ बैंकको बेंसीसहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक तथा एनएमबी बैंकको बेंसीसहर शाखाबाट समेत सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी-आइआर बीबी माइनस’ रेटिङको प्रमाणपत्र प्रदान गरेको छ ।
प्रकाशित समय : २३:०१ बजे


















