गृहपृष्ठ इन्धनका लागि ‘गुइँठा’ खाेज्दै गृहिणी
इन्धनका लागि ‘गुइँठा’ खाेज्दै गृहिणी
महाेत्तरीकाे ग्रामीण भेगमा गृहिणीहरू इन्धनका लागि ‘गुइँठा’को जोहोमा छन् । गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा नै गुइँठा हाे । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो । गोबर पथारेर फरक-फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् ।
प्रायःजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर संकलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदैछन् । आफ्ना वस्तुभाउ नहुने गृहिणी यसरी गोबरको खोजीमा सडक, चौरमा छिटी बोकेर निस्कन्छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगका गृहिणीको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने काम देखिएको हो ।
'के गर्नु पकाएर खानु परिहाल्छ', धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिएकी बर्दिवास नगरपालिका-९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतो भन्छिन, 'अहिले अन्य खेती कामको व्यस्तता नभएका बेला बर्खाभरिलाई चाहिने ‘चिपरी’ पथार्दै छु ।'
जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी, गुइँठा र गोरहामा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ । योभन्दा पनि इन्धनका लागि अन्य साधनको जोहो गर्न आर्थिक अवस्थाले नसक्नेहरूका लागि त गोबरको जोहो र गुइँठा पथार्ने काम अनिवार्य नै बनेको छ ।
त्यसो त स्वास्थ्यकर्मी ‘गुइठा’ मा पकाइएको खाना स्वस्थ्यकर हुने बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा गोबरका ‘चिपरी’ वा ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउँछन् ।
यहाँका महिला अहिले धेरैजसो कृषि कार्यबाट अलि फुर्सदिलो समय हुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’, ‘गुइँठा’ र ‘गोरहा’ पथार्ने (गोबरको ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाउने कामलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ) गरेको बताउँछन् ।
घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर संकलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरी मात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ ।
प्रकाशित समय : १६:४८ बजे



















