global ime bank Long Banner Ad

गृहपृष्ठ खेलकुद क्षेत्रका लागि बजेटमा केही नयाँ कार्यक्रम आउँछ : अर्थमन्त्री

खेलकुद क्षेत्रका लागि बजेटमा केही नयाँ कार्यक्रम आउँछ : अर्थमन्त्री

खेलकुद क्षेत्रका लागि बजेटमा केही नयाँ कार्यक्रम आउँछ : अर्थमन्त्री

आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउनका लागि सुझाव लिएको बताए । ‘सबैले राम्रो सुझाव दिनुभएको छ । यी सबै विषय समेट्ने मन छ तर साधन, स्रोतले नभ्याउला कि भन्ने लाग्छ,’ उनले भने, ‘यद्यपि, खेलकुद क्षेत्रले खुसी मनाउने गरी केही नयाँ कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।’

उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए । छिटो प्रतिफल दिने (पुरस्कार जित्ने सम्भावना उच्च भएका खेलहरुका लागि) पूर्वाधार निर्माणका योजना बनाएर अगाडि बढाउनुपर्ने उनले बताए । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८, २९ र ३० जेठमा आयोजना गर्ने निर्णय गरेको र सो प्रतियोगिता भव्य रुपमा आयोजना गर्न बजेटको कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले नयाँ खेलाडी उत्पादन गर्नेतर्फ कार्यक्रम र बजेटले ध्यान दिन आवश्यक रहेको बताए । ‘मुलुकमा एउटा खेलकुद विश्वविद्यालय छैन । यसको जरुरी परेको देख्छु,’ उनले भने, ‘यो भयो भने खेलकुदसम्बन्धी नीति निर्माण गर्न, अध्ययन गर्न, नयाँ खेलाडी जन्माउन सहयोग पुग्छ ।’

उनले व्यवसायिक भइसकेका फुटबल, क्रिकेटजस्ता खेलहरुको पनि पूर्वाधार अभावले थप व्यवसायीकरण गर्न नसकिएको बताए । ‘राष्ट्रको गौरव र पहिचान निर्माण गर्ने क्षेत्रका रुपमा खेलुकदलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छ । खेलले देश-विदेशमा रहेका नेपालीलाई एकतावद्ध गरेको हुन्छ,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले एउटै खेलका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गर्न सक्ने अवस्थामा नरहेको जानकारी दिँदै धेरै खेलहरु खेलाउन सकिने रंगशाला वा कभर्ड हल निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठले सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रको रुपमा हेर्ने गरेको भन्दै खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । खेलकुद क्षेत्रलाई सक्षम बनाउने गरी बजेट बिनियोजन हुनुपर्ने उनको सुझाव थियो । पूर्व खेलाडी दीपक श्रेष्ठले राष्ट्रिय खेलकुद प्रतियोगिता र एसियन गेम्स नजिकै आइसकेकाले तयारी गर्नुपर्ने र यस्ता प्रतियोगिताका लागि राम्रो बजेट राख्नुपर्ने सुझाव दिए । उनले बजेट निर्माणका सन्दर्भमा पहिलो पटक खेलकुद क्षेत्रका प्रतिनिधि बोलाएर सुझाव लिएको भन्दै अर्थ मन्त्रालयलाई धन्यवाद दिए । खेलाडीलाई वर्गीकरण गरी सेवा, सुविधा दिनुपर्ने, नयाँ खेलाडी उत्पादन गर्न हाल भइरहेका खेलाडीलाई खेल क्षेत्रबाटै राम्रंो आम्दानी दिन सक्नुपर्ने, खेलाडीको अक्षय कोषमा ठूलो रकम राखिदिनुपर्ने लगायतका सुझाव दिएका थिए ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुदलाई ब्राण्डिङ गर्नुपर्ने, सातै प्रदेशमा ठूला पूर्वाधार बनाउनुपर्ने, स्थानीय–प्रदेश र संघले राष्ट्रिय खेलकुद प्रतियोगिताको पिरामिड बनाएर काम गर्नुपर्नेलगायतका सुझाव दिए । पूर्व क्रिकेटर बिनोद दासले खेलकुदको बजेटलाई लगानीका रुपमा हेर्नुपर्ने बताए । उनले स्वदेशमै प्रशिक्षक र प्राविधिक उत्पादनका कार्यक्रम ल्याउनुपर्ने बताए ।

प्रकाशित समय : ०३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु