गृहपृष्ठ नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार
नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार
नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि बेलीजका स्थायी प्रतिनिधि कार्लोस सी. फुलरले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरे ।
योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको संख्या १७६ पुगेको छ । दुवै देशका राजदूतले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएकोबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गरेकाे नेपालको स्थायी नियोगले जनाएको छ ।
त्यस अवसरमा राजदूतद्वयले दुई देशको पारस्परिक हितका लागि विशेषगरी संयुक्त राष्ट्रसंघका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई बलियो बनाउने तथा साझा हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए । संयुक्त अधिराज्यबाट २१ सेप्टेम्बर १९८१ मा स्वतन्त्र भएको बेलीजले त्यसको चार दिनपछि संयुक्त राष्ट्रसंघकाे सदस्यता पाएको थियो ।
प्रकाशित समय : ०१:१३ बजे


















