त्रिकोणात्मक टी-ट्वान्टी सिरिज: मलेसियाविरुद्ध नेपाल ब्याटिङमा
वि.सं.२०७८ चैत १९ शनिवार १८:३८
shares

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ । मलेसियाले आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर थप दुई खेलमा मलेसिया नेपालसँग ६ विकेट र पीएनजीसँग ८ विकेटले पराजित हुँदा तालिकाको पुछारमा छ ।
मलेसिया र पीएनजीले समान १/१ खेल जिते पनि रनरेटको आधारमा पीएनजी अगाडि छ । तीन खेलमा तीन जित निकालेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ ।

























