गृहपृष्ठ फिफाले सार्वजनिक गर्यो विश्वकप-२०२२ को ड्र, कुन समूहमा कुन देश ?
फिफाले सार्वजनिक गर्यो विश्वकप-२०२२ को ड्र, कुन समूहमा कुन देश ?
कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक भएको छ । कतारको दोहामा शुक्रबार एक कार्यक्रमको बीच विश्वकप समूह चरणको विभाजन सार्वजनिक गरिएको हो । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरियता क्रममा राखेर ‘ड्र’ गरेको हो ।
आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने विश्वकपको सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । तुलनात्मक सहज रहेको यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस समूहमा युएई, अष्ट्रेलिया र पेरु मध्ये एक टोली आउने छन् ।
यस्तै उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् । यस समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्डबीचको विजेता यस समूहमा हुने छन् ।
लियोनल मेस्सीको टोली अर्जेन्टिना समूह ‘सी’मा रहेका छन् । यस समूहमा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’मा परेको छ । यस समूहमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् ।
ब्राजिल समूह ‘जी’मा रहेको छ । यस समूहमा स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् ।आयोजक कतार समूह ‘ए’मा पर्दा इंग्ल्यान्ड समूह ‘बी’मा छन् । उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय : १४:३५ बजे

















