गृहपृष्ठ ग्लोबल बैंकको मोबाइल बैंकिङबाट भारतपे, पेटिएम र गुगल पेमा कारोबार गर्न सकिने
ग्लोबल बैंकको मोबाइल बैंकिङबाट भारतपे, पेटिएम र गुगल पेमा कारोबार गर्न सकिने
ग्लोबल आईएमई बैंकले नेपाल-भारत भित्रका ग्राहकहरूलाई क्युआर सुविधा सुरू गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि)सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ एप गुगल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्युआरमार्फत भारतपे, पेटिएम, गुगलपे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ ।
उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका हुन् । सेवा सञ्चालनमा आएपश्चात यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारतपे, पेटिएम, गुगल पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्युआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरूलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
त्यसैगरी, ग्राहकले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरूबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन् । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिने विश्वास राखिएको छ । सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंकले विभिन्न कार्य सुरू गरिरहेको छ ।
बैंकले मुलुकभर २८९ शाखा, २५४ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याइरहेको छ ।
प्रकाशित समय : १८:२७ बजे



















