गृहपृष्ठ रेमिट्यान्स घट्दा अर्थतन्त्र गम्भीर संकटमा : पूर्वगभर्नर

रेमिट्यान्स घट्दा अर्थतन्त्र गम्भीर संकटमा : पूर्वगभर्नर

रेमिट्यान्स घट्दा अर्थतन्त्र गम्भीर संकटमा : पूर्वगभर्नर

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले रेमिट्यान्स घट्दा अर्थतन्त्र गम्भीर संकटमा पुगेकाे बताएका छन् । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घटेको घट्यै हुँदा अर्थतन्त्रमा समस्या देखिएको उनले बताएका हुन् ।

पत्रकार महासंघ पाल्पा शाखाले बिहीबार तानसेनमा आयोजना गरेको अन्तरक्रियामा उनले सात/आठ महिनादेखि लगातार रेमिट्यान्स घटिरहेकाले समस्या थपिएको बताए । ‘बैंकमा आउनुपर्ने पैसा आएको छैन,’ उनले भने, ‘एकातर्फ रेमिट्यान्स प्रत्येक महिना घट्दै गएको छ । अर्कोतर्फ आर्थिक क्रियाकलाप कोभिडपछि बढेको छ ।’ आयात बढ्ने र निर्यात कम हुने अवस्थामा रेमिट्यान्स पनि ह्वात्तै घट्दा अर्थतन्त्रलाई अझ बढी असर गरेको उनले बताए ।

बैंकमा भएको पैसा बाहिरिने र रेमिट्यान्स कमी हुँदै गएकाले समस्या थप बढेको उनले बताए । ‘हाम्रोजस्तो मुलुकमा पहिलोपटक आर्थिक भ्याकुम भएको देखिएको छ । किनभने एकपटक बजेट आएर पुन: सरकार परिवर्तन भयो,’ उनले भने, ‘एक-डेढ महिना सरकार बन्न सकेन । त्यसपछि मनिटरिङ नीति पनि आउन सकेन । पुरानै नीति रह्यो ।’

यही बिचमा रुस र युक्रेनबीचको युद्धले गर्दा अझ समस्या बढेको उनको दाबी थियो । ‘विदेशी मुद्राको सञ्चिति घटिरहेकाले चिन्ताजनक अवस्था रहेको छ,’ उनले भने, ‘सरकारले विदेशी मुद्रा सञ्चितिलाई जोगाउने उपाय पनि खोज्नुपर्ने अवस्था आएको छ ।’

अब सरकारले आयातमा कडाइ, पेट्रोलियम पदार्थ प्रयोगमा कमी, विदेशी उत्पादनको आयातलाई कम गर्नेलगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

सरकारको ढुकुटीमा रहेको पैसालाई सही ढंगले परिचालन गर्न अध्यादेश ल्याएर भए पनि योजना बनाउन उनले आग्रह गरे । विदेशी मुद्रा आम्दानीको स्रोतको रूपमा रहेको पर्यटन क्षेत्रलाई बढाउने र स्वदेशमा उत्पादन हुने वस्तुलाई बढावा दिनुपर्ने उनको सुझाव छ ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु