गृहपृष्ठ अनुमतिबिना प्याराग्लाइडिङ उडाउने एक विदेशी पक्राउ
अनुमतिबिना प्याराग्लाइडिङ उडाउने एक विदेशी पक्राउ
फाइल तस्बिर ।
अनुमतिबिना प्याराग्लाइडिङ उडाउने एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर छन् । बैतडी प्रहरीका प्रवक्ता इन्स्पेक्टर दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका-१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो ।
उनले कानुनविपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा प्याराग्लाइडिङ गर्दै आएका थिए । प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए । मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय धनगढी पठाइएको छ ।
प्रकाशित समय : १३:०६ बजे



















