गृहपृष्ठ मरिसकेको सपना ब्युँतियो: महामन्त्री गगन थापा
मरिसकेको सपना ब्युँतियो: महामन्त्री गगन थापा
काठमाडौं महानगरपालिका-३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन ल्याएको छ । ज्ञानेश्वरमा सञ्चालनमा आएको उक्त केन्द्रको पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरे । मंगलबार केन्द्रको उद्घाटन गर्दै थापाले आफ्नो मरेको सपना फेरि ब्युँताउन सकेको बताएका छन् ।
आफू स्वास्थ्यमन्त्री रहँदा श्रीलंका गएको र त्यतिबेला त्यहाँका स्वास्थ्यमन्त्रीले हेल्दी लाइफ क्लिनिक देखाएको थापाले स्मरण गरे । श्रीलंकाले मानिसहरुको जीवनशैली स्वस्थकर बनाउने र प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गरेको देखेपछि थापाले पनि नेपालमा सोही अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको योजना ल्याएका थिए ।
थापाको योजना अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनको निर्देशिका पनि बनाइएका थियो । थापा स्वास्थ्यमन्त्री रहँदा नै काठमाडौं महानगरपालिकासँग सम्झौता गरी काठमाडौंको १० स्थान र बूढानीलकण्ठमा केन्द्र स्थापनाका लागि सम्झौता पनि भएको थियो । 'सरकार परिवर्तन भएपछि स्वास्थ्य मन्त्रालय, स्थानीय तह कसैले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको विषयमा चासो दिनुभएन । म कयौं पटक स्थानीय तहमा धाएँ, तर मेरो कुरा कसैले सुनिदिनुभएन,' थापाले भने, 'काठमाडौं महानगर ३० का वडा अध्यक्ष र सदस्यहरु यो योजनामा पोजिटिभ भएपछि केन्द्र स्थापना गर्न सफल भइयो ।'
प्रकाशित समय : २१:४८ बजे



















