गृहपृष्ठ एक उम्मेद्वारले बढीमा साढे सात लाख खर्च गर्न पाउने, एक करोड तोक्नुपर्ने भन्दै दलहरुको आपत्ति
एक उम्मेद्वारले बढीमा साढे सात लाख खर्च गर्न पाउने, एक करोड तोक्नुपर्ने भन्दै दलहरुको आपत्ति
स्थानीय तहको निर्वाचन आउन अब मात्र दुई महिनाको समय बाँकी छ । मिति नजिकिएसँगै निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै खर्च सम्बन्धी सीमा निर्धारण गरेको छ । निर्वाचन आयोगका अनुसार अब स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछ ।
महानगरका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको हो । उपमहानगरका मेयर र उपमेयरले बढीमा ५ लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने भएका छन् । नगरपालिकाका मेयर र उपमेयरले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ निर्वाचन प्रचारप्रसारमा खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ ।
महानगरका वडाध्यक्ष र सदस्यले ३ लाख ५० हजार रुपैयाँ, उपमहानगरका वडाध्यक्ष र सदस्यले २ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने छन् । नगरपालिकाका वडाध्यक्ष र सदस्यले २ लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यले १ लाख ५० हजार खर्च गर्न पाउने गरी आचारसंहिता जारी गर्न लागेको आयोगले जनाएको छ ।
२०७४ को निर्वाचनमा निर्धारण गरेको खर्चको सीमा नै यस वर्ष पनि कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । तर, आयोगले तोकेको सीमा अव्यवहारिक भन्दै प्रमुख दलहरूले नै असन्तुष्टि जनाएका छन् ।
छलफलमा दलहरूले महानगरको निर्वाचनमा कम्तीमा १ करोडको खर्च सीमा तोक्नुपर्ने प्रस्ताव गरेका थिए ।
प्रकाशित समय : १६:२३ बजे



















