गृहपृष्ठ गुर्जा गाउँको परिवर्तित स्वरुपले सबै दंग
गुर्जा गाउँको परिवर्तित स्वरुपले सबै दंग
म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धौलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव संग्रहालयल’ भनेर व्यंग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा आएको हो ।
यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएकाले अहिले गुर्जाको परिचय फेरिएको छ । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको यस गाउँका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । उनका अनुसार गुर्जामा इटालियन जातको स्याउका बिरुवा काठमाडौँदेखि लगेर रोपिएको थियो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले उक्त स्याउको ८ सय बेर्ना लगाएका थिए । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित हाइब्रिड जातको स्याउ लगाएका हुन् । गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको बेस क्याम्पको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ । बेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरि बेस क्याम्प पुग्न सकिने भएकाले ‘एडभेन्चर ट्रेल हब’का रुपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले बताए ।
गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको स्थल हो । गुर्जा गाउँलाई कसैले जोकको रुपमा 'टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन' पनि भन्ने गर्दछन् । गुर्जा, चुरेन र पुथा हिमालको फेदीमा रहेका छन् । गुर्जाबाट सबैभन्दा नजिकको मानव बस्तीमा पुग्न कम्तीमा आठ घण्टा पैदलयात्रा गर्नुपर्ने हुन्छ । पर्यटक गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुथा हिमाल र चुरेन हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने गर्दछन् ।
पर्यटकलाई मन पर्ने गुर्जामा २ सय ५८ घरपरिवारले बसोबास गर्दछन् । यहाँ छन्त्यालको जीवनी, सभ्यता र संस्कृति चिनाउन सकिने आँखीझ्याल पनि भएको पर्यटन व्यवसायी राजेश शाक्यले बताए । उनका अनुसार परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति अनि सरल र मिजासिला अल्पसंख्यक छन्त्याल समुदायको जीवनशैलीलाई बुझ्न र रमाउन गुर्जामा आन्तरिक तथा बाह्य पर्यटक जान थालेका छन् । गुर्जाबाट दलसिंगे खर्क, भुजुंगेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्ग छ । यो मार्गमा यार्सागुम्बा पाइने भएकाले पदमार्गको नाम यार्सा ट्रेल राखिएको हो । गुर्जा गाउँ समुद्र सतहबाट तीन हजार २ सय २० मिटर उचाइमा रहेको छ ।
हिउँदका चार महिना बाक्लो हिउँले ढाक्ने गुर्जागाउँ पुग्न म्याग्दीको लुलाङ, मुदी गाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीनवटा बाटो छन् । यी सबै बाटामध्ये जुनबाट यात्रा गरे पनि जंगलको बाटो यात्रा गर्नु पर्दछ । गुर्जा पुगेपछि पर्यटक ढोरपाटन पुग्ने गर्दछन् । ढोरपाटनमा सिकार आरक्षण छ । धौलागिरी हिम शृंखलाको सेरोफेरोमा यो आरक्षणले प्रत्येक वर्ष हजारौँ पर्यटकलाई आकर्षण गराउँदै आएको छ ।
बाँझो जमिनमा जडीबुटी खेती
जडीबुटीबाट मनग्गे आम्दानी हुन थालेपछि गुर्जाको बाँझो जमिनमा स्थानीयवासीले जडीबुटी खेती गर्न थालेका छन् । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाउन स्थानीयबासीलाई प्रेरित गरेको छ । गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानले यसको व्यावसायिक खेती सुरु गरेका हुन् । खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आवद्ध किसानले उक्त जडीबुटीको खेती सुरु गरेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
स्थानीय किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी संस्थामार्फत पहिलोपटक २५ किसानले जडीबुटीको खेती थालेको वडाध्यक्ष छन्त्यालको भनाइ छ । उनले सामुदायिक वन क्षेत्रको साढे दुई हेक्टर जमिनमा अतिस जातको जडीबुटीको बेर्ना लगाएको बताए । अतिसलाई मानिसको पेटभित्र पर्ने जुका मार्ने तथा स्वास्थ्यवर्द्धक जडीबुटीका रूपमा चिनिन्छ । बजारमा यसकोे माग उच्च रहेकाले गुर्जामा व्यावसायिक खेती थालिएको बताइएको छ ।
समुद्री सतहदेखि दुई हजार ७ सय मिटरको उचाइमा अवस्थित गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइन्छ । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो ।
प्रकाशित समय : १४:५१ बजे



















