गृहपृष्ठ किसानलाई बीउ वितरण
किसानलाई बीउ वितरण
शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६ सय ६० किलोग्राम गहुँको बीउ वितरण गरेको हो ।
कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील कृषि सहकारी १८, कृषि समूह २२ र कृषि फार्म ४५ वटामार्फत ३ सय २५ जना किसानलाई उन्नत जातको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत संघीय सरकारबाट प्राप्त २० लाख रुयैयाँ मध्ये सात लाख र किसानले बेहोरेको सात लाख गरी १४ लाखमा रुपैयाँ गहुँको बीउ खरिद गरी वितरण गरिएको उनले बताए । ‘किसानलाई उन्नत जातका विजय, आदित्य, एनएल ९७१ र वाणगंगा जातको गहुँको बीउ मागका आधारमा उपलब्ध गराएका छौं’, उनले भने, ‘उन्नत जातको बीउको प्रयोगले गहुँको उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौं । किसानलाई मार्का नपर्ने गरी ढुवानी र लोड अनलोडबापतको खर्च शाखबाटै बेहोरिएको छ ।
शाखाबाट वितरण गरिएको बीउ १८८ बिघा जग्गामा किसानले छरेका छन् । नगरपालिका क्षेत्रका गहुँ खेतीमा संलग्न किसानमध्ये ७० प्रतिशतले उन्नत जातको गहुँको बीउको प्रयोग गर्ने भएका छन् । सिँचाइको पहुँच पुग्न थालेपछि गहुँको उत्पादन प्रतिवर्ष बढ्दोरुपमा रहेको छ । किसानलाई आवश्यकताअनुसारको रासायनिक मलको आपूर्तिमा सहज गरिए उत्पादनमा वृद्धि गर्न सकिने कृषि प्राविधिको भनाइ छ । नगरपालिका क्षेत्रमा प्रतिहेक्टर गहुँको उत्पादन दुई मेट्रिक टन छ ।
प्रकाशित समय : १३:०० बजे



















