गृहपृष्ठ ललितपुरमा कांग्रेस सभापति अमात्यको टीम पराजित
ललितपुरमा कांग्रेस सभापति अमात्यको टीम पराजित
नेपाली कांग्रेस ललितपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा जिल्ला सभापति मदन अमात्यको टीम नै पराजित भएको छ । शुक्रबारदेखि सुरू भएको कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा जिल्ला सभापति अमात्य निकट सबै उम्मेदवार पराजित भएका हुन् । ललितपुरका ६ वटा प्रदेश कार्यसमितिका लागि निर्वाचन भएको थियो । शुक्रबार राति सार्वजनिक भएको मत परिणामअनुसार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (१) को सभापतिमा मिलन सिलवाल विजयी भएका छन् । उनले तीर्थ घलानलाई पराजित गरेका हुन् ।
सिलवालले २०० मत प्राप्त गरे भने घलानले ८३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । त्यस्तै प्रदेश सभा (२) मा ज्ञानबहादुर लो प्रदेश सभा सभापतिमा विजयी भएका छन् । उनले २०१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कृष्ण चन्द्र महर्जनले ११० मत प्राप्त गरे ।
ललितपुर क्षेत्र नं २ को प्रदेश सभा (१) को प्रदेश कार्यसमिति सभापतिमा दिवाकर नेपाल निर्वाचित भएका छन् । सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा नेपालले ८५ पाए भने उनका प्रतिद्वन्दी सञ्जय अर्यालले ६३ र जयकिशन बोगटीले २८ मत प्राप्त गरे । प्रदेश सभा (२) को सभापतिमा चन्द्रमान बज्राचार्य सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल र बज्राचार्यलाई पूर्वसांसदद्वय रामकृष्ण चित्रकार र चन्द्र महर्जनको समर्थन थियो ।
जिल्ला सभापति अमात्यको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि उनका दुवै उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र (१) मा वीरेन्द्र महर्जन विजयी भए । उनले ११५ मत पाए भने प्रतिस्पर्धी गोविन्द घिमिरेले १०७ मत प्राप्त गरेका थिए । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा सुरेन्द्र डंगोल विजयी भए । उनले १०२ मत पाए भने प्रत्यासी निरन खड्काले ७० मत पाए ।
प्रकाशित समय : १८:१० बजे



















