गृहपृष्ठ महाधिवेशन प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह
महाधिवेशन प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् । महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
'हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा पनि बुझ्दछौँ । तदनुसार नै व्यवहारमा पनि लोकतन्त्रको अभ्यास गर्दछौँ,' अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, 'हामी सबैलाई थाहै छ, लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो । दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार हो ।'
एमालले संगठित सदस्य संख्याका आधारमा १ हजार ९ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागेको हो । उनीहरूले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् । कतिपय स्थानमा यसअघि नै सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन गर्दैछ ।
प्रकाशित समय : १७:५६ बजे


















