गृहपृष्ठ तिहार र छठमा लाखौं मूल्यको केरा बिक्री
तिहार र छठमा लाखौं मूल्यको केरा बिक्री
तिहार र छठ पर्वमा जिल्लामा लाखौं मूल्यको केरा बिक्री भएको छ । जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ ।
त्रियुगा-१ जोगिदह र चौदण्डीगढी नगरपालिका-९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौं मूल्य बराबर केरा बिक्री भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र चौदण्डीगढी नगरपालिकाको हँडिया र सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा अत्यधिक केराको कारोबार भएको केरा उत्पादक कृषकले बताएका छन् ।
जोगिदहका केरा व्यवसायी कृष्णदेव चौधरी तिहार र छठमा एक लाख ५० हजारभन्दा बढीको केरा बिक्री गरेको बताउँछन् । तिहार र छठमा जोगीदह क्षेत्रमा मात्र झण्डै आठ लाख रूपैयाँभन्दा बढीको केरा बिक्री भएको पदम खड्का बताउँछन् । चौदण्डीगढीको हँडियामा मात्र तिहार र छठमा गरेर दशौं लाख मूल्यको केरा बिक्री भएको हँडियाका देवदत्त चौधरीले बताए ।
हँडियाको उत्तराई टोल र देवधार क्षेत्रबाट तिहार र छठमा दशौं लाख मूल्यको केरा बिक्री भएको कृषक विष्णुदेव चौधरी बताउँछन् । यता चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा झण्डै आठ लाख रूपैयाँको केरा बिक्री भएको केरा उत्पादक कृषक वीरेन्द्र चौधरीले बताए ।
उक्त क्षेत्रमा दसैंका समयमा पनि झण्डै आठ लाख रूपैयाँ बराबरको केरा बिक्री भएको चौधरी बताँछन् । तिहार र छठमा सो क्षेत्रबाट सप्तरीको फत्तेपुर, चौदण्डीगढीको बेल्टार बजार, सदरमुकाम गाईघाट, सुनसरीको चतरा बजारलगायत ठाउँमा केरा बिक्री भएको कृषक प्रेमराज घिमिरेले बताए ।
कोरोना संक्रमणका कारण असोज अघि उत्पादन भएको केरा बिक्री हुन सकेको थिएन् । दसैं, तिहार र छठमा केरा बिक्री भएको घिमिरेले बताए । उक्त क्षेत्रमा उत्पादन भएको गाईघाट, बेल्टार, सप्तरी र सुनसरीका विभिन्न बजारमा बिक्री भएको थियो ।
केरा व्यापारी केरा खरिदका लागि घरमै आएका कृषक बताउँछन् । जिल्लामा वार्षिक दुई करोड रूपैयाँभन्दा बढीको केरा बिक्री हुने गरेको छ । (रासस)
प्रकाशित समय : २०:०५ बजे


















