global ime bank Long Banner Ad

गृहपृष्ठ मिथिलामा ‘सनेस’ को चटारो

मिथिलामा ‘सनेस’ को चटारो

मिथिलामा ‘सनेस’ को चटारो

छठपर्व सकिएसँगै मिथिलाका गृहिणीलाई  ‘सनेस’ (कोसेली) को चटारो छ । ‘सनेस’ छोरी, दिदीबहिनी, इष्टमित्र र नजिकका आफन्तलाई पठाउने  परम्पराले अहिले मैथिल गृहिणीलाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धितकहाँ पठाउने चटारो परेको हो ।

दसैँ, तिहार पर्व सकिएलगत्तै छठका तयारीमा लाग्दा गृहस्थ जीवनका काम असरल्ल परेकै बीच अहिले ‘सनेस’ भ्याउनुपरेको मैथिल गृहिणी बताउँछन् । 'धान थन्क्याइसकिएको छैन, हिउँदे बाली लगाउने चटारो छँदैछ, तर अहिले यी सबै थाँती राखेर छठको ‘सनेस’ पकाउनु परेको छ,' भंगाहा नगरपालिका-४ रामनगरकी शान्तिदेवी साह भन्छन्, 'फूपूकहाँ त हिजै पठाइयो, अब छोरीहरु र मितकहाँ पठाउनु छ ।'

मिथिलामा छठ र तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको ‘सनेस’ पठाउने आम परम्परा छ । छठ सकिएलगत्तै पठाइने ‘सनेस’ मा ठकुवा (गहुँको पिठोमा सख्खर मिसाएर घिउमा पकाइने खास मिष्ठान्न परिकार), भुसुवा (कसार), पिरुकिया–पिठोबाटै बनाइने मिठो परिकार, खाजा पनि भनिन्छ) र केरा हुने गर्छ । यसरी पठाइने ‘सनेस’ छठ नमनाइने परिवारमा पर्व सकिएलगत्तै र अन्यकहाँ एक/दुई सातासम्म लगाएर पठाइने गरिएको छ । पकाउने काम गृहिणीको भए पनि ‘सनेस’ पु-याउन चाहिँ बाबु/काका, दाजुभाइ नै जाने गर्छन् । यसरी पठाइने ‘सनेस’ मा छठमा सूर्यदेवलाई अर्घ्य दिँदा देखाइएको प्रसाद सामग्री मिसाएर पठाइने गरिन्छ ।

'यो परम्परा कोसेलीमात्रको नभएर मुख्य चाडवाडपछि आपसी भेटघाटको अवसर पनि पूर्वजले  बनाएका होलान्,' बलवा नगरपालिकास्थित भगवतीपुरका मनोज मिश्र भन्छन्, 'यसमा आशिष पुर्‍याउने र सम्बन्धको प्रगाढता पनि जोडिएको हुन्छ ।' मिथिलामा छठ र तिलासक्रायत पर्व सकिएलगत्तै ‘सनेस’को नाउँमा भेटघाटको निरन्तरता केही दिन चल्ने गर्छ । पर्वको ‘सनेस’ पुग्न ढिलो हुँदा त खासगरी छोरीचेली र मित/मितिनीले बिर्सेकी भन्ने खुलदुली नै लाग्ने गरेको पाका मैथिल बताउँछन् । समयक्रमले अचेल कामको विविधता बढ्दै जाँदा पहिले-पहिलेजस्तो घरपरिवेशको झैँ गृहस्थ जीवन फेरिएको छ । कामका लागि टाढा-टाढा जानुपर्दा पर्व सकिएलगत्तै युवापुस्ता घरमा नहुँदा सकीनसकी यो परम्परा बूढापाकाले धान्नुपरेको भंगाहा-४ थारूटोल बनराका ६५ वर्षीय रामधारीसिंह थारूले बताए ।

'पर्व सकिएलगत्तै तीन भाइ छोराहरू कामकाममा गए,' उनी भन्छन्, 'सनेस लिएर मै जानुपर्ने हुन्छ ।' अब यो परम्परा कामको चापले आफ्नो पुस्तापछि मेटिदै (हराउँदै) जाने थारूको अड्कल छ । मिथिलामा छठ सकिएको दुई सातासम्म ठकुवा, भुसुवाकै मौसम रहन्छ । घरको खाजामा होस् वा आफन्तलाई पठाउने ‘सनेस’ मा । यसै परम्पराले सिंगो मिथिला क्षेत्रमा नै अहिले घरघरै जसो ठकुवा, भुसुवा पकाइँदा, बनाइँदा छन् । तिल, चिउरा, जुनेला र मुरीका ‘लाइ’ धमाधम बटारिँदा (बनाइँदा) छन् ।  रमाइलो थप के हुन्छ भने छिमेकका जेठानी, देउरानी, नाताका बुहारी र अन्य आपस्त (हिमचिम भएका) पनि ठकुवा पकाउन र भुसुवा बटार्न सरिक हुन्छन् । ठकुवाका लागि पिठो र मिठ्ठा (सख्खर)को खुँदोको मात्रा, भुसुवाका लागि चाहिने मरमसलाको तालमेल मिलाउने सल्लाह र यसै मेसोमा मिथिलानीबीच हुने अन्य हासपरिहास पनि यस कामका रमाइला पक्षका रूपमा पाका मैथिल गृहिणी सम्झन्छन् ।

'पवनी (पर्व) सकिएकै दिन सानो छोराले ‘सनेस’ छोरीकहाँ पुर्‍याएर आयो,' बर्दिबास नगरपालिका-९ पशुपतिनगरकी दिपीयादेवी महतोले  भने, 'अब ननद (नन्द) र दोस्त (मित)को घरमा जान बाँकी छ, त्यसैमा लागेकी छु ।' पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने र यी परिकार यसपालि आगामी १५ मंसिरसम्म नै  खाजा खाइने उनको भनाइ छ । खासगरी अब जाडो बढ्दै जाँदा सख्खर, घ्यू र गहुँको पिठोबाट बन्ने परिकार खाँदा आङ तात्ने, चिसोका विकार ठिक हुने र काममा पूर्ति आउने मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि  बढ्दो जाडोबीच ठकुवा, भुसुवा  खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको  भंगाहा-७ मेघरोलका शिक्षिका समीक्षासिंह थारूले जानकारी दिए ।

अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो घरमा ठकुवा, भुसुवा  बनाउन लागिपरेका छन् ।  ‘सनेस’ पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा छठ सकिएका केही दिनसम्म ठकुवा, भुसुवाको मौसम हुने गरेको यहाँका बूढापाका बताउँछन् । (रासस)

प्रकाशित समय : १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु