गृहपृष्ठ एनएमएद्वारा नवगठित कार्यसमितिलाई स्वागत तथा प्रमाणपत्र वितरण
एनएमएद्वारा नवगठित कार्यसमितिलाई स्वागत तथा प्रमाणपत्र वितरण
नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफूअन्तर्गतको बागमती प्रदेश कार्यसमितिलाई स्वागत तथा प्रमाणपत्र वितरण गरेको छ । एनएमएको प्रदेश शाखा समन्वय समितिले आइतबार नागपोखरी नक्साल काठमाडौंस्थित एनएमए सचिवालयको सभा हलमा आयोजना गरेको एक कार्यक्रमकाबीच नवगठिन समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेको हो ।
गत २३ आसर २०७८ मा काठमाडौंमा भएको बागमती प्रदेशभित्र रही पर्वतीय पर्यटनमा सक्रिय रहेका पर्यटन व्यवसायी तथा आरोहीहरुको भेलाले दलबहादुर गुरुङको अध्यक्षतामा एनएमको बागमती प्रदेश समिति गठन गरेको थियो । दलबहादुर पछिल्लो २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहदै आएका व्यक्तित्व हुन् । बागमती प्रदेश समितिमा मिलन कुमार तामाङ उपाध्यक्ष, फुडोमा शेर्पा सचिव र ठाकुर धरेल कोषाध्यक्ष हुन् । यस्तै, दावा सिंगी हेल्मो, अमर गुरुङ, सुप्पा तामाङ, कुलदाश तामाङ, सुनिता गहतराज, लोप्साङ शेर्पा, ध्रुव श्रेष्ठ, आकाश गुरुङ, कामी शेर्पा, उर्जा तामाङ र ज्ञानबहादुर तामाङ समितिका सदस्य छन् ।
प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई संघका अध्यक्ष सन्तवीर लामाले प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै, संघका महासचिव कुलबहादुर गुरुङ, सचिव एवं प्रदेश शाखा समन्वय समितिका संयोजक टिकाराम गुरुङ, केन्द्रीय सदस्यहरु वांचु शेर्पा, तुल सिंह गुरुङ, सञ्जिव गुरुङ, सिंगी लामालगायतले खादा लगाएर नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यको स्वागत गरे । त्यस लगत्तै संघ अध्यक्ष लामाले समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थिए ।
सो अवसरमा संघका शाखा समन्वय समितिका संयोजक तथा संघका सचिव टिकाराम गुरुङले बधाई दिए । ‘हामीले बागमती प्रदेशभित्र रहेका सबै जिल्लालाई समेटेर यो समितिको गठन गरेका छौं’, उनले भने, ‘यो समितिले नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण काम गर्ने विश्वास छ ।’ यस्तै, महासचिव कुलबहादुर गुरुङले नयाँ कार्यसमितिलाई पूर्णरुपमा नेपाली पर्वतीय पर्यटनको विकासका लागि काम गर्ने बताए । ‘हामीले विधानअनुसार यो कार्यसमितिको गठन गरेका छौं । बागमती प्रदेश समितिले पूर्णरुपमा पर्वतीय पर्यटनको प्रवर्द्धन र विकासका लागि काम गर्नेछ ।'
संघका अध्यक्ष सन्तवीर लामाले प्रदेश समितिलाई केन्द्रको सम्पूर्ण सहयोग रहने बताए । ‘एनएमएको अन्य प्रदेश समितिले पनि राम्रो काम गरिरहेको छ । मलाई विश्वास छ कि यो समितिले पनि राम्रो काम गर्ने छ’, उनले भने, ‘समितिले बनाएको राम्रो योजनामा वा समितिले गर्न खोजेको काममा हाम्रोतर्फबाट सधै सहयोग हुनेछ । हामी सँगै अघि बढ्ने छौं ।’
प्रकाशित समय : १६:३९ बजे



















