global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको समृद्धि पर्यटनबाटै सम्भव : सदगुरू

नेपालको समृद्धि पर्यटनबाटै सम्भव : सदगुरू

नेपालको समृद्धि पर्यटनबाटै सम्भव : सदगुरू

भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताएका छन् ।

नेपालको पर्यटन प्रवर्द्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरुसँग गरेको छलफलका क्रममा उनले नेपाल एसियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै नेपालको पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए । एकसाता अघि नेपाल आएका सद्गुरुसँग बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धका विभिन्न विषयमाथि गरेको छलफलका क्रममा उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र यही नै स्वर्ग रहेको धारणा राखेको बोर्डले विज्ञप्तिमार्फत् जनाएको छ ।

‘नेपाल सम्भावना नै सम्भावना भएको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ ? आवश्यक छ त केबल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन । त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन,’ सद्गुरुको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाल विश्वका अरु देश जस्तो नभइ अलौकिक आनन्द प्राप्त गर्न सकिने देश भएकाले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकत्ता भएको बताउँदै उनले योजनाबद्ध विकासबिना दिगो विकास सम्भव नहुने धारणा राखे ।

नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान पनि उनले सुझाव दिए । आउने दश वर्षभित्रै नेपालको पर्यटनलाई कूल गाहस्थ उत्पादन ९जीडीपी० को करिब ३० प्रतिशत योगदान दिने क्षेत्रका रुपमा विकास गर्न सकिने सद्गुरुको भनाइ थियो । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले कोभिडकै बीचमा सद्गुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक समानता रहेको हुँदा दुबै देशबीच सहकार्य गर्न सके पर्यटनबाट फाइदा लिनसक्ने बताए ।

नेपालमा धार्मिक र आध्यात्मिक पर्यटन प्रवर्द्धन लागि सद्गुरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताउँदै कार्यकारी प्रमुख रेग्मीले खप्तडजस्ता ठाउँमा सद्गुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्नसमेत आह्वान गरे ।  सद्गुरु नेपाली भू-भाग लिमी भ्याली हुँदै नेपालबाटै कैलाश मानसरोवरको यात्रा गरी काठमाडौँ फर्किएका हुन् । उनीसँगै विभिन्न देशका उनका अनुयायी तथा सहयोगी गरी करिब ४० जनाभन्दा बढीको समूह नेपालमा रहेको छ ।

नेपालको पर्यटनका लागि भारत प्रमुख स्रोतबजार मानिन्छ । हरेक वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्यामध्ये भारत पहिलो नम्बरमा पर्छ । स्थलमार्ग भएर पनि धेरै भारतीय नेपाल आउने गरेका छन् । धार्मिक तथा मनोरञ्जनका लागि उनीहरुको रोजाइँ नेपाल गन्तव्य हुन्छ । कोभिड-१९ महामारीका कारण पछिल्ला दुई वर्ष विदेशी पर्यटक आगमन घट्यो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२० मा जम्मा दुई लाख ३० हजार विदेशी पर्यटक नेपाल आएका छन् ।

सन् २०२१ को आठ महिनामा ६६ हजार ९६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । महामारीकाबीच नेपाल आउने विदेशी पर्यटकमध्ये पनि भारत पहिलो स्थानमा रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स २०१९’ अनुसार सन् २०१९ दुई लाख ५४ हजार १५० भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र सन् २०१७ मा एक लाख ६० हजार ८३२ भारतीय पर्यटक नेपाल आएका थिए । (रासस)

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु