गृहपृष्ठ ट्राफिक प्रहरीले सुरु गर्यो रातमासमेत गति नियन्त्रण अभियान
ट्राफिक प्रहरीले सुरु गर्यो रातमासमेत गति नियन्त्रण अभियान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीब्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ । विशेषगरी कोटेश्वर-सुर्यबिनायक सडक, रिङरोड र चौडा सडकहरुमा तीब्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तीब्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ ।
'दैनिक रुपमा दिउँसो हुने चेकिङमा तीब्रगतिमा सवारी चलाउने ३५/४० जना चालकलाई लेजर गनमार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमासमेत ओभरस्पिड चेकिङ गरी गति नियन्त्रण गर्ने अभियान पहिलो पटक सुरु गरेका छौँ ।' महाशाखाका एसएसपी जनक भट्टराईले भने । उनले तीब्रगतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको जानकारी दिए ।
स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङलाई कडाईका साथ लगिनेसमेत महाशाखाले जानकारी दिएको छ । तीब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तीब्रगति र लापरबाहीकासाथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई महाशाखाले अनुरोधसमेत गरेको छ ।
प्रकाशित समय : १९:१९ बजे



















