गृहपृष्ठ काठमाडौं महानगर क्षेत्रको फोहोर आजबाट उठाइने
काठमाडौं महानगर क्षेत्रको फोहोर आजबाट उठाइने
काठमाडौ महानगर क्षेत्रमा थुप्रिएका फोहोर आज (बुधबार) देखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, एसएसपीसहित मंगलबार बसेको बैठकले महानगर क्षेत्रका विभिन्न स्थानमा थुपारिएका फोहोर आज बिहान उठाउन सुरु गर्ने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच मंगलबार सम्झौता भएपछि फोहोर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो । महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको छ । स्थानीय र महानगरपालिकाबीच तीनपिप्ले-सिसडोल सडक तत्काल (१५) दिनभित्र ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेण्डर प्रक्रियामा जाने, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले-सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सम्झौता भएको छ।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘स्थानीय समस्या भए हामी समाधान गर्छौ । हामीले समाधान गर्न नसक्ने समस्या सम्बन्धित निकायसँग पहल गर्छौँ । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए ।
प्रकाशित समय : १४:१३ बजे




















