Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

तेल ट्यांकरमा भएको हमलामा इरानको हात छ : इजरायल

न्युज कारोबार काठमाडौं साउन १८, २०७८       

तेल ट्यांकरमा भएको हमलामा इरानको हात छ : इजरायल फाइल तस्बिर ।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्यांकरमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन् । उनले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूहरुसँग रहेको दाबी पनि गरेका छन् ।

उनको यो भनाइपछि उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुनसक्ने वक्तव्य दिएका छन् । बेलायत र अमेरिकाले इरानको हात रहेको आफूहरूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तर्राष्ट्रिय कानुनकोविपरीत रहेको पनि बताएका छन् । यता इरानले भने सो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेनेटले यसबारेमा चेतावनी दिँदै 'इरानलाई कसरी जवाफ दिनुपर्छ' भन्ने कुरा आफूलाई थाहा भएको भनेपछि यता इरानले यस घटनामा आफ्नो हात नरहेको भनी स्पष्ट गरेको छ ।

तेहरानले यसलाई आधारहीन आरोप भनेको छ । उक्त ट्यांकरमा भएको हमला इजरायल र इरानबीचको अघोषित रुपमा एक किसिमको तनाव बढाउने पछिल्लो घटनाका रूपमा आएको विदेशी समुदायले दाबी गरेका छन् । गएको मार्चदेखि इरान र इजरायलले सञ्चालन गर्दै आएका कैयौँ पानीजहाजमा आक्रमण भएको देखिएको छ । पछिल्लो पटक भने इजरायलको स्वामित्वको एक कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक ट्यांकरमा गत बिहीबार आक्रमण भएको थियो । ओमानी तटमा सो ट्याङ्करमाथि आक्रमण भएको थियो ।

त्यस आक्रमणमा परेर दुई जनाको ज्यान पनि गएको थियो । ज्यान जानेमा एक जना ब्रिटिश र एक जना रुमेनियाली नागरिक रहेका छन् । त्यस हमलामा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । (रासस)

सम्बन्धित खबरहरु