Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

कावासोतीमा दूध उत्पादक किसानलाई अनुदान

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

कावासोतीमा दूध उत्पादक किसानलाई अनुदान

कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरुप गत आर्थिक वर्ष २८ लाख १७ हजार ८९३ रूपैयाँ प्रदान गरिएको हो । दूधको उत्पादन बढाउन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले दूधमा प्रतिलिटर १.२५ रूपैयाँका दरले अनुदान प्रदान गरिँदै आएको नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख डा. टेकराज पौडेलले बताए ।

जनकल्याण दुग्ध विकास सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत् नगरपालिकाभित्रका एक हजार ५०० दूध उत्पादक किसानलाई २२ लाख ५४ हजार ३१५ लिटर दूधको १.२५ रूपैयाँका दरले गत आवमा अनुदान प्रदान गरिएको उनको भनाइ थियो ।

कावासोती कृषिका लागि उर्बर क्षेत्र भएकाले त्यहाँ  लगानी बढाउनका साथै माछापालन, मौरीपालन र धानखेती गर्ने किसानलाई समेत अनुदान प्रदान गरिएको नगर उपप्रमुख प्रेमशंकर मर्दनीया थारूले बताए । 

नगरभित्रका विभिन्न वडालाई माछा, मौरी, धान, दूधको पकेट क्षेत्र निर्धारण गरी उत्पादन बढाउन अनुदान दिनाका साथै गत वर्ष  धानखेती गर्ने दुई हजार ५०० किसानलाई बीउमा समेत अनुदान प्रदान गरिएको उनको भनाइ थियो । (रासस)

सम्बन्धित खबरहरु