nmb bank

गृहपृष्ठ दलित समुदायमा लैंगिक हिंसाका घटना बढी

दलित समुदायमा लैंगिक हिंसाका घटना बढी

दलित समुदायमा लैंगिक हिंसाका घटना बढी

बागलुङमा लैंगिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैैंगिक हिंसाका घटना बढ्दै गएकामा क्रमशः पुरुष समेत हिंसामा परेको तथ्यांक सार्वजनिक भएको छ । बागलुङमा लैंगिक हिंसामा परेर प्रहरी चौकी, अस्पताल पुग्ने र पुनःस्थापना हुनेको तथ्यांक हेर्ने हो भने लैंगिक हिंसा पीडितमध्ये केही पुरुषसमेत रहेका छन् ।

लैंगिक हिंसामा पर्ने जातजाति समुदायमध्ये धेरै दलित समुदायबाट लैंगिक हिंसाका घटना भएको पाइएको छ । शैक्षिकस्तर कम हुनु, चेतनाको कमीलगायतका कारण दलित समुदायका महिला तथा पुरुषमा लैंगिक हिंसाका घटना बढी मात्रामा भएको देखिएको छ । लैंगिक हिंसा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रले वर्षेनी लैंगिक हिंसाका घटना बढ्दै गएको र यसमा पनि दलित समुदायका बढी पीडित हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वर्ष २०७५/७६ सम्म लगातार बढ्दै आएको लैंगिक हिंसा पीडितका घटनामा २०७७/७८ मा केही घटेको पाइएको थियो ।

कोरोना भाइरसका कारण लैंगिक हिंसाका घटना अस्पताल र प्रहरीसम्म आउन नसकेको लैंगिक हिंसा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिए । 'तथ्यांकका आधारमा आव २०७५/७६ सालमा ११६ महिला तथा २० पुरुष गरी १३६ जनामा लैंगिक हिंसा भएको थियो, त्यसपछि २०७६/७७ मा घटेर ८७ पुगेको थियो,' भट्टराईले भने, 'आव २०७७/७८ को असार २१ गतेसम्म ८६ लैंगिक हिंसाका घटना भएका छन्, कोरोनाका कारण केही लैंगिक हिंसाका घटना घरमै सीमित रहेको अनुमान छ ।'

पछिल्लो समय लैंगिक हिंसाका घटना महिला पुरुषले सहेर बस्ने अवस्था नरहेका कारण दिनानुदिन यी घटना बाहिर आइरहेको भए पनि कोरोनाका कारण तथ्यांकमा भने केही कमी आएको उनको भनाइ छ । हिंसा पीडितको तथ्यांकअनुसार अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका महिला र पुरुष हिंसामा पर्दै आएका छन् । लैंगिक हिंसामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनःस्थापनासम्मको काम गर्दै आएको केन्द्रले निःशुल्क खान र बस्न र यातयातको सुविधासमेत प्रदान गर्दै आएको छ ।

२०७७/७८ मा बलात्कार १०, यौन हिंसा १९, मानसिक दबाब ३१, घरेलु हिंसा २३, हातपातका जम्मा तीन वटा घटना भएका थिए । यसमा पुरुष भने मानसिक दबाब, घरेलु हिंसा तथा हातपातमा पीडित भएका छन् । चालु आवमा पीडित भएका ८६ घटनामध्ये ७७ बागलुङका, चार पर्वतका र पाँच म्याग्दी जिल्लाका छन् । जातजातिअन्तर्गत सबैभन्दा बढी दलित ४४ जना, जनजाति २२ जना, ब्राह्मण क्षति २० जना पीडित भएको तथ्यांकमा उल्लेख छ । (रासस)

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु