गृहपृष्ठ विपद न्यूनीकरणका लागि डेटा र डिजिटल प्रविधिको प्रयोगमा जोड
विपद न्यूनीकरणका लागि डेटा र डिजिटल प्रविधिको प्रयोगमा जोड

विपद न्यूनीकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद् पोर्टलमार्फत् अलर्ट गराउने र आवश्यक योजना बनाउने कामहरु गरे पनि स्थानीय स्तरसम्म प्रभावकारी हुन नसकेको सरोकारवालाको भनाई छ ।
शनिबार 'The Digitalisation of Disaster Risk Management in Nepal' विषयमा आयोजना भएको डिजिटल संवाद २.३ कार्यक्रममा बोल्दै विज्ञहरु डिजिटल प्रविधिसँगसँगै डेटा व्यवस्थापन, डेटा एनलाइज, फोरकास्ट र अलर्ट सिस्टममा विशेष ध्यान दिनुपर्ने कुरामा वक्ताहरुको जोड थियो । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभाग (एनडिआरआरएमए) का प्रमुख कार्यकारी अनिल पोखरेलले प्राधिकरण जोखिम न्यूनीकरण र व्यवस्थापनमा सक्रियताका साथ लागेको र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग मिलेर नयाँ प्रविधिहरु प्रयोग गर्ने काम अघि बढिरहेको बताए ।
विपद व्यवस्थापन चुनौतिपूर्ण भएता पनि पछिल्लो समय विपद पोटर्ललाई राष्ट्रिय एकीकृत सिस्टमको रुपमा विकास गरिएका कारण सर्वसाधारणलाई पूर्व सूचना दिने, तत्काल उद्यार र सहयोग गर्न सकिएको पोखरेलको भनाई थियो । उनले अब यसलाई एक इ भिलेज जस्तो बनाएर सबैको समन्वय, सहकार्य गर्न सकिनेगरी नीतिगत, संरचनात्मक र प्राविधिक सुधारतर्फ लागेको जानकारी दिए । विभिन्न उच्च क्षमताको ड्रोनहरुहरु प्रयोग गरी अवस्थाको जानकारी लिने र तत्काल उद्दारमा काम गरिरहेका बताउँदै उनले सेटेलाइटहरु र त्यसमा क्लाउड कभर राखेर पनि अध्ययन गर्ने काम भइरहेको जानकारी कार्यक्रममा गराए । विपद व्यवस्थापनका लागि अझ धेरै नयाँ प्रविधिहरु आवश्यक भएको र यसको लागि अध्ययन पनि भइरहेको पोखरेलको भनाई थियो ।
विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले अहिले नेपाल संकटमा रहेको र जति डिजिटल रुपान्तरणको कुरा गरिरहे पनि विपदबाट जोगिन र क्षती कम गर्न हामिले नयाँ प्रविधिको प्रयोगमा ध्यान नदिएको गुनासो गरेका थिए । यसमा कलेक्टिभ प्रयास हुनुपर्ने र विशेष प्राथमिकतामा राख्नुपर्नेमा सरकारलाई जोड दिए ।
प्रकाशित समय : १६:०५ बजे