Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

कर्णालीको बजेट ‘डमी सांसद’ले निर्माण गरेको आरोप

न्युज कारोबार वीरेन्द्रनगर जेठ ३१, २०७८       

कर्णालीको बजेट ‘डमी सांसद’ले निर्माण गरेको आरोप

‘डमी सांसद’ले निर्माण गरेको बजेट नल्याउन प्रतिपक्षी दलले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आइतबार नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै यस्तो सुझाव दिएका हुन् ।

बिचौलियाले निर्माण गरेको बजेट नल्याउन उनले अनुरोध गरे । उनले प्रश्न गरे, ‘१ गते डमी सांसदले बजेट ल्याउनुहुन्छ कि सांसदहरुले निर्माण गरेको बजेट ल्याउनुहुन्छ ?’ अघिल्ला वर्षहरुमा सत्तापक्ष हुँदासमेत दलको बैठकमा बजेटसम्बन्धी सुझाव दिएको भन्दै नेता कँडेलले गम्भिरतापुर्वक छलफल गरेर संसदका अगाडि सरकार नतमस्तक भएर व्यवस्था गरेका चिजहरु पनि यो कार्यक्रममा नभएको बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रमले कर्णालीका जनताको जीवनस्तर बदल्ने भन्दा पनि पार्टी कार्यकर्ताको भरणपोषण गर्न सक्ने उनले आरोप लगाए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम गत वर्षभन्दा पनि पछाडि फर्किएको भन्दै प्रदेश अस्पतालको हालत बिग्रिएको बेला पाँच सय शय्याको कोरोना अस्पताल बनाउने योजना सफल नहुने दाबी गरे । प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने नीति कर्णालीले संघीय सरकारको फोटोकपी गरेको उनले आरोप लगाए ।

यसअघि संघीय सरकारले ल्याइसकेको कार्यक्रम फेरि किन ल्याएको भन्दै उनले प्रश्न गरे । कोरोना भाइरसको संक्रमणका कारण धेरै नागरिकको मृत्यु भएको भन्दै नेता कँडेलले त्यसमध्ये सरकारको अव्यवस्था र लापरबाहीले धेरैको ज्यान गएको आरोप लगाए । ‘विद्युत गइरहने समस्या छ, अनि जेनेरेटर बाल्दा-बाल्दै मान्छे मरेका छन्,’ उनले भने ।

बिचौलियाले निर्माण गरेको बजेटभन्दा सांसदले निर्माण गरेको बजेट ल्याउन उनको आग्रह छ । पुँजीगततर्फ ध्यानै नदिई नीति तथा कार्यक्रम ल्याएको उनले टिप्पणी गरे । उनले आगामी वर्ष ल्याइने बजेटमा कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि ५० करोड, जनता सडक कार्यक्रम १० करोड, सुर्खेत उपत्यका चत्रपथका लागि २० करोड, दलित समुदायको लागि ठोस कार्यक्रमसहित ५० करोड, पूर्वाधार विकासमा २५ करोड, सुर्खेत उपत्यका खानेपानी योजनाका लागि २५ करोड लगायतको माग राकेका छन् । उनले आइतबार बिहिन मुख्यमन्त्री शाहीलाई भेटी उक्त बजेटको खाका दिएका हुन् ।

सम्बन्धित खबरहरु