काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दरबार हत्याकाण्ड : ‘यथार्थ’लाई यथार्थ नमानेरै दुई दशक

31.1K
shares

नेपालमा केही यस्ता घटनाहरू छन्, लामाे समय बितिसक्दा पनि ति घटनाहरूकाे वास्तविकता बाहिर आएका छैनन् । वा, भनिएका वास्तविकतालाई सर्वसाधारणले पत्याएकै छैनन् । नेपालकाे कम्युनिष्ट आन्दाेलनमा नछुट्ने चर्चित नाम हाे, मदन भण्डारी । करिब तीन दशकअघि उनकाे ज्यान जानेगरी भएकाे सडक दुर्घटनाबारे सत्यतथ्य अहिलेसम्म बाहिर आएको छैन । उनी चढेकाे गाडीका चालककाे समेत हत्या गरिएपछि घटना थप रहस्यकाे गर्तमा भासिएकाे छ । यति मात्र हाेइन, सर्वसाधारण मारिएका कतिपय रहस्यमय घटनाहरूकाे चित्तबुझ्दाे छानबिन भएकाे छैन । 

यस्तैमध्ये एक घटना हाे दरबार हत्याकाण्ड । राजदरबारभित्र र राजपरिवारकै वंशनाश भएकाे उक्त घटनाले संसारकै ध्यान खिचेकाे थियाे । 'दरबार हत्याकाण्ड' घटना घटेको आज (बुधबार) २० वर्ष भएको छ । २०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका परिवारका सबै सदस्यको ज्यान गएको थियो, अर्थात् वंशनाश भएको थियो । जेठ १९ लाई नेपालको इतिहासमै कहालीलाग्दो दिनको रूपमा लिइन्छ ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको सो घटनामा ज्यान गएको थियो । कोमल शाह, शोभा शाही, कुमार गोरखशम्शेर र केतकी चेस्टर घाइते भएका थिए ।

घटनाको छानबीन गर्न तत्कालीन सरकारले एक समिति गठन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदनमा गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरिएको थियो । प्रेमिका देवयानी राणासँग वैवाहिक सम्बन्ध गाँस्न चाहेको तर परिवारले स्वीकृति नदिएपछि आवेशमा आएका दीपेन्द्रले दरबारको नियमित जमघटमा उपस्थित शाही परिवार र शाही नातेदारहरूमाथि गोली चलाउँदै अन्तमा आफूले समेत आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । तर, यसलाई सर्वसाधारणसहित धेरैले पत्याएका छैनन् । त्यो घटना कसले र किन घटायो भन्ने अहिलेसम्म 'रहस्यमय'नै छ । सरकारद्वारा गठित समितिको प्रतिवेदनले बाहिर ल्याएको यथार्थलाई आममानिसले यथार्थ मानेकै छैनन् । यसरी एउटा राजपरिवारको सिंगो वंश नै नाश हुनेगरी भएको घटनासम्बन्धी यथार्थलाई यथार्थ नमानेरै दुई दशक बितिसकेको छ ।

सरकारले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म कुनै कदम चालिएको छैन । वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले राजगद्दी सम्हाले । तर, उनमा बढेको महत्वकांक्षा स्वयंका लागि घातक बन्यो । राजतन्त्र धेरै समय टिक्न सकेन । माओवादी जनयुद्ध र २०६२/६३ को जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । सरकारलाई अपदस्थ गर्दै शासनभार आफ्नो हातमा लिएका ज्ञानेन्द्र नेपालको अन्तिम राजा बने । दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो ।

तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी देखाइएको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यसपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । यद्यपि बेला-बेला केही व्यक्तिहरूले घटनाको पुन: छानबिन र अनुसन्धान हुनुपर्ने कुरा उठाउने भने गरेका छन् । घटनापछिको दुई दशकको अवधिमा अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार भित्रको त्यो घटना अहिले पनि रहस्यकै गर्भभित्र छ ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश हुनेगरी उक्त घटना नघटेको भए नेपालको वर्तमान परिदृश्य नै अर्कै रहने सहजै अनुमान गर्न सकिन्छ । राजतन्त्रकाे अन्त्त्यपछि अहिले तत्कालीन नारायणहिटी दरबारलाई 'नारायणहिटी संग्रहालय' बनाइएको छ । उक्त घटना क्रमश: पुरानाे हुँदै गइरहेकाे छ । तर, साँच्चिकै यथार्थबारे मानिसकाे काैतुहलता भने मेटिएकाे छैन ।