गृहपृष्ठ जनस्वास्थ्यका मापदण्ड पालना गर्दै गणतन्त्र दिवस मनाउन राष्ट्रपतिको आग्रह
जनस्वास्थ्यका मापदण्ड पालना गर्दै गणतन्त्र दिवस मनाउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई पर्वका रूपमा मनाउन आग्रह गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा मनाउन आग्रह गरेकी हुन् ।
'गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सु–संस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।' सन्देशमा भनिएको छ ।
राष्ट्रपतिले नेपालको संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापना गर्नका लागि यस दिवसले हामी सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

प्रकाशित समय : १५:३९ बजे



















