गृहपृष्ठ मास्क लगाएर खेतीपाती

मास्क लगाएर खेतीपाती

मास्क लगाएर खेतीपाती

कोरोनाको संक्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् । मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए ।

'काम नगरी खान पाइँदैन, तर सामाजिक दुरी बनाएर काम गरेका छौं' बागलुङ नगरपालिका-१२ अमलाचौरकी पार्वती आचार्यले भने, ‘'मकै गोड्न जाँदा पनि मास्क अनिवार्य गरेका छौं ।' बालबालिका, बुढाबुढीसहित सबैलाई मास्कको आवश्यकताबारे स्वास्थ्यकर्मीले जानकारी गराएका थिए । सुरुआतमा अटेर गरेकाहरु गाउँघरमा संक्रमित थपिएपछि मात्रै डराएर लगाउन थालेका हुन् । घरमा बस्दा पनि अनिवार्य मास्क लगाउन भनेको अमलाचौर स्वास्थ्य चौकीकी अनमी कल्पना शर्माले बताए । सुरुमा लापरवाही थियो, जथाभावी हिंड्ने पनि थिए, गाली गरियो, सम्झाइयो अनिमात्र सुधार भएको छ,' शर्माले भने, 'लक्षण देखिएमा कोरोना परीक्षणमा पनि पठाइएको छ ।'

बलेवा क्षेत्रमा मात्रै अझैपनि ३५० बढी सक्रिय संक्रमित छन् । घरघरमा संक्रमण अझै बढ्ने खतरा रोक्न बाहिर निस्कन कडाइ गरिएको उनले बताए । यतिबेला गाउँगाउँमा खेतीपातीको समय छ । ताराखोला, ढोरपाटन, बडिगाडका उच्च पहाडी क्षेत्रमा मकै गोड्ने, उच्च स्थानमा आलु खन्ने काम भैरहेका छन् । 'काम त गर्नैपर्छ, तर सर्तकता अपनाएका छौं' ताराखोला गाउँपालिका-२ का अध्यक्ष भद्रबहादुर घर्तीले भने, 'बारीमा पनि सामाजिक दुरी कायम गरेका छौं ।' यो वर्ष अघिल्लो वर्षझै पर्म लगाउन नसकेको उनको भनाइ छ । पर्मका लागि मानिस जुटाउँदा संक्रमणको डर भएकोले एक्लाएक्लै काम गरिएको उनी बताउछन् ।

गलकोटमा पनि खेताला नपाउने समस्या परेको स्थानीयवासी बताउँछन् । बडिगाडका किसानले यतिबेला बढी सास्ती खेपेका छन् । यहाँ धेरै संक्रमित भेटिएका छन् । धेरै जनाको मृत्यु भएकाले कतिपय सामान्य लक्षण भएका पनि कमजोर बनेकाले घरको कामसमेत गर्न नसकेको स्थानीयवासी झविन्द्र बुढाथोकीले बताए । 'गाइभैँसीलाई घाँसपात पनि गर्न नसकेर भित्रै बसेकाहरु पनि छन्' उनले भने, 'वैशाखको २० पछि खेतीपातीमा ध्यान दिनै पाइएको छैन ।' चरनमा लैजाने किसानले यसपटक पशुलाई घरमै बाँधेर राखेका छन् ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु