Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

पर्यटकीय बस्ती घुन्सा र फले दुई सातादेखि सम्पर्कबिहीन

न्युज कारोबार ताप्लेजुङ वैशाख २६, २०७८       

पर्यटकीय बस्ती घुन्सा र फले दुई सातादेखि सम्पर्कबिहीन घुन्सा गाउँ । (फाइल तस्बिर)

पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका- ६, घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत  सञ्चार  हुन सकेको छैन ।

कोभिड- १९ को संक्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरुसँग सम्पर्कमा रहनुपर्ने समयमा घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्पर्क बन्द भएको स्थानीयवासी मिङमा डण्डु शेर्पाले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित बस्ती घुन्सा र फले क्षेत्रमा मोबाइल बन्द भएको हो । स्याटलाइट प्रविधिबाट घुन्सा क्षेत्रमा मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए । उनले भने, 'टावरमा समस्या आएको छ । केही आवश्यक उपकरण फेर्नु पर्दछ । त्यसका लागि आवश्यक सामग्री इलाम दूरसञ्चार कार्यालयबाट झिकाएको छ । आज फुङ्लिङमा आइपुग्छ ।' घुन्सा क्षेत्रमा अहिले कुनै सञ्चार हुन सक्दैन । नेपाल प्रहरीको सेटबाट  घुन्सा प्रहरी चौकीमामार्फत स्थानीयवासीलाई आवश्यक सामग्री लिन सदरमुकाम फुङ्लिङ आउन खबर गरेको चेम्जोङले बताए ।

फले गाउँ । (फाइल तस्बिर)

सदरमुकाम फुङ्लिङबाट स्थानीयवासी आफैँले ढुवानी गरेर घुन्सासम्म पुर्‍याउनुपर्ने उनले बताए । सदरमुकाम फुङ्लिङदेखि घुन्सा पुग्न तीन दिन पैदल यात्रा गर्नु पर्दछ । ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोला गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको कार्यालयको तथ्यांकमा उल्लेख छ । (रासस)

सम्बन्धित खबरहरु