गृहपृष्ठ हालसम्म आइसीयू र अक्सिजनको अभाव छैन : बीएण्डसी
हालसम्म आइसीयू र अक्सिजनको अभाव छैन : बीएण्डसी
झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटरसहित सघन उपाचार कक्ष (आइसीयू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ । बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटरसहित आइसीयू शय्यामध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी दशदिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ ।
ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख छ । आज मात्र काठमाडौँस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय संक्रमित दीपकराज आङदम्बेलाई ‘हवाई बेड लिफ्ट’ गरी बीएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ । काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभावभएपछि ‘हवाई बेड लिफ्ट’ गरी संक्रमितलाई धमाधम बीएण्डसी पुर्याउने क्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार दाङ र पर्साका दुई संक्रमितलाई सो बीएण्डसी अस्पतालमा लगिएको थियो ।
उनले विज्ञप्तिमा भनेका छन्, 'कोरोना उपचारमा बीएण्डसी सरकारलाई सधैँ सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका संक्रमितलाई उपचार गर्न भेन्टिलेटरसहित (आइसीयू तथा अक्सिजनको अभाव रहेको छैन ।' अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारीअनुसार भेन्टिलेटरसहित आइसीयूका लागि देशभरबाट बीएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ । उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग-अलग भेन्टिलेटरसहित आइसीयू शय्याको ब्लग सञ्चालनमा ल्याएको छ ।
प्रकाशित समय : २२:५७ बजे




















