गृहपृष्ठ आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा सेनालाई
आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा सेनालाई
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र काभ्रेले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजंग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो ।
शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाज कल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ । संक्रमणबाट मुत्यु भएकाको शव व्यवस्थापनसमेत नेपाली सेनाले गर्दै आएको छ । हालसम्म पनि जिल्लामा सरकारी, निजी र स्थानीय तहमा शव बाहन नभएको हुँदा शव व्यवस्थापनका लागि जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी शव बाहन उपलब्ध गराउन वाग्मती प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरिएको छ ।
संक्रमितको संख्या ७०० नाघ्यो
काभ्रेपलाञ्चोकमा कोभिड–१९ बाट संक्रमितको संख्या ७०० नाघेको छ । जिल्लाका विभिन्न पालिकामा गरी बुधबार एकै दिन १५८ जनामा संक्रमण पुष्टि भएपछि अहिलेसम्मको सक्रिय संक्रमितको संख्या ७६८ पुगेको छ । तीमध्ये विभिन्न अस्पतालको आइसोलेशनमा ५८ र होम आइसोलेशनमा ७४३ रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालयका अनुसार अहिलेसम्ममा सबैभन्दा बढी संक्रमितको संख्या बनेपा नगरपालिकामा ३०१ पुगेको छ । धुलिखेल नगरपालिकामा १५८, पनौती नगरपालिकामा १५०, पाँचखाल नगरपालिकामा ६०, नमोबुद्ध नगरपालिकामा २८ र मण्डनदेउपुर नगरपालिकामा १९ जना संक्रमित रहेका छन् । जिल्लामा संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै बिरामीको सेवाका लागि २४ सै घण्टा एम्बुलेन्स सेवासमेत व्यवस्था गरिएको नगरपालिकाहरुले जनाएका छन् । (रासस)
प्रकाशित समय : १४:३६ बजे


















