गृहपृष्ठ मनकामना केबुलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै
मनकामना केबुलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै
मनकामना केबुलकार मर्मत सम्भारपश्चात एक दिनअगावै अर्थात आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबुलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो ।
मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा १ दिनअगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबारबाटै सञ्चालनमा आउने जनाएको हो । चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबुलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबाबु श्रेष्ठले बताए ।
२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबुलकारले २३ वर्ष पूरा गरेसँगै नयाँ प्रविधिमा सञ्चालन गर्नेगरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउँदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबुलकार सञ्चालन गर्न लागेको हो । सञ्चालन श्रेष्ठकाअनुसार पहिलो चरणमा अतिआवश्यक र मर्मत नगरी हुने, सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।
उनका अनुसार केबुलकारको लठ्ठा परिवर्तन, सञ्चार केबललाई सेट्रा केबलमा परिवर्तन र डीसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षासँगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ ।
अबको २ वर्षभित्रै केबुलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १७:४७ बजे


















