global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

लहान- छिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो ।

यसअघि गत शुक्रबार सोही वडाकी ६२ वर्षीया सीमादेवी साह र गत बुधबार सोही ठाउँका ५२ वर्षीय विश्वनाथ साह, ७० वर्षीया रुनादेवी सदा र ७२ वर्षीया रामसुनैर साहको मृत्यु भएको सो वडाका वडाध्यक्ष जगदिश महतोले जानकारी दिए ।

उनले चिसोका कारण मृत्यु भएकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सरकारको तर्फबाट मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउनु पर्ने माग गरे ।

यस्तै अत्यधिक चिसोका कारण आइतबार सिरहाको लहान नगरपालिका–६ मा पनि एक महिलाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर लहान नगरपालिका–६ निवासी ६५ वर्षीया सीतादेवी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुर निवासी ४१ वर्षीया माकोदेवी पासवान, कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियो ।

चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारको लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् ।

यस्तै चिसोकै कारण गत साता सिरहाको गोलबजार नगरपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो ।

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्डडायरियालगायतका बिरामी बढेका छन् ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु